
काठमाडौं । विगत ३ वर्षदेखि शिथिल घरजग्गा कारोबारले अझै लयमा आएको छैन । २०७९ जेठमा सरकारले भू-उपयोग नियमावली लागू गरेदेखि लगातार ओरालो लागेको घरजग्ग कारोबारले अझै गति लिन नसकेको हो ।
घरजग्गा कारोबारमा सुधार ल्याउन सरकार र नेपाल राष्ट्र बैंकले एकपछि अर्को खुकुलो नीति ल्याउँदै आएका छन् । तर, आर्थिक मन्दीका कारण कारोबार बढ्न नसकेको हो ।
आर्थिक शिथिलताकै बीच चालु आर्थिक वर्षको ८ महिनामा देशभरमा ३ लाख २४ हजार ३३९ वटा घरजग्गा किनबेच भएको छ । जसमा पुसमा सबैभन्दा धेरै ४८ हजार १५६ वटा घरजग्गाको लिखत पारित भएको थियो ।
पछिल्लो समय तराईका जिल्लाहरू घरजग्गा कारोबारका लागि हटस्पट बन्दै आएका छन् । विगतमा काठमाडौं उपत्यका घरजग्गा कारोबारीको रोजाइमा पर्ने गरेकोमा केही वर्ष यता त्यो आकर्षण तराईका जिल्लाहरूमा सिफ्ट भएको हो ।
नयाँ सहर तथा प्रदेश राजधानीको रुपमा विकास भइरहेका तराईका क्षेत्रहरू मानिसको आकर्षण बढ्दो छ । काठमाडौं उपत्यकामा बाक्लो आवास, मूल्य उच्च हुनु, खुला ठाउँ नहुनु लगायत कारणले मानिसको रोजाइ तराईका सहर उन्मुख क्षेत्रहरूमा पर्न थालेको घरजग्गा व्यवसायी बताउँछन् ।
देश संघीय संरचनामा गएसँगै पहाडबाट तराई तथा दुर्गमबाट सुगमतर्फ सेवासुविधाको खोजीमा बसाँइसराइ गर्ने क्रम बढ्दो छ । यस्तोमा तराईका जिल्लाहरूमा बढ्दो सहरीकरण, सस्तो पूर्वाधार विकास, औद्योगीकरण, रोजगारीका अवसर, सडक पूर्वाधार लगायत सुविधा हुनाले घरजग्गा किनबेच गर्ने आकर्षित भएका हुन् ।
केही वर्ष यता तराईका ठूला सहरहरू विराटनगर, दमक, इटहरी, सुनसरी, नेपालगञ्ज, भरतपुर, बर्दिबास लगायतका ठाउँमा किनबेच तीव्र बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।
विगतको तुलनामा काठमाडौं उपत्यकामा भने घरजग्गा कारोबार सुस्ताउँदै गएको छ । विगत केही वर्ष यता धेरै करोबार हुने जिल्लाहरूको शीर्ष सूचीमा काठमाडौं उपत्यकाका जिल्लाहरू पर्न छाडेका छन् ।
उपत्यकाका यी ठाउँमा हुँदैछ धेरै कारोबार
उपत्यकामा चक्रपथ क्षेत्र बाहिर घरजग्गा कारोबार बढी हुने गरेको विभागको तथ्यांक छ । चालु आवको ८ महिनामा काठमाडौं उपत्यकामा २८ हजार ७७८ वटा घरजग्गा किनबेच भएको छ ।
जसमा काठमाडौंमा १५ हजार ६१२, ललितपुरमा ६ हजार ३९९ र भक्तपुरमा ६ हजार ७६७ वटा घरजग्गा किनबेच भएको छ । काठमाडौं उपत्यकामा ९ वटा मालपोत कार्यालयबाट घरजग्गा किनबेच हुन्छ ।
मालपोत कार्यालयका आधारमा भक्तपुरबाट सबैभन्दा धेरै ६ हजार ७६७ वटा घरजग्गा किनबेच भएको छ । यस कार्यालयबाट जिल्लाका चारवटै मध्यपुर ठिमी, चाँगुनारायण, सूर्यविनायक र भक्तपुर नगरपालिकाको घरजग्गा किनबेच हुन्छ ।
काठमाडौंमा ६ वटा मालपोत कार्यालयबाट घरजग्ग किनबेच हुन्छ । जसमा चालु आवमा मालपोत कार्यालय कलंकीबाट सबैभन्दा धेरै ४ हजार ६२६ वटा घरजग्ग किनबेच भएको छ । यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।
त्यस्तै, चाबहिल मालपोतबाट ३ हजार ४०० घरजग्गा किनबेच भएको छ । यस कार्यालयबाट बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका भित्रको घरजग्गा कारोबार हुन्छ ।
साँखु मालपोतबाट ३ हजार ५५ वटा घरजग्गा कारोबार भएको छ । यसको कार्यक्षेत्रमा आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र पर्छन् ।
त्यसैगरी, मनमैजु कार्यालयबाट १ हजार ९११ घरजग्गा किनबेच भएको छ । यहाँबाट तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडाको घरजग्गा कारोबार हुन्छ । डिल्लीबजार कार्यालयबाट १ हजार ४३१ वटा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौं महानगरको वडा नं. ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा कार्यक्षेत्रमा पर्छन् ।
टोखा कार्यालयबाट सबैभन्दा कम १ हजार १९० वटा घरजग्गा किनबेच भएको छ । यस कार्यालयबाट बुढानीलकण्ठ नगरपालिका वडा नं. ६ र ७, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका वडा नं. १ भित्रको कारोबार हुन्छ ।
ललितपुरमा दुईवटा मालपोत कार्यालयबाट घरजग्गा किनबेच हुन्छ । जसमा लगनखेलबाट ६ हजार २८७ वटा लिखत पारित भएको छ । लगनखेल मालपोतबाट ललितपुर महानगर, गोदावरी, महालक्ष्मी नगरपालिका भित्रका सबै क्षे, बागमती गाउँपालिका (घुसेल, माल्टा, भट्टेडाँडा, इकुडोल, आश्राङ) कोन्ज्योसोम गाउँपालि (नल्लु, भारदेउ, चौघरे लगायत) ठाउँको घरजग्गा किनबेच हुन्छ ।
त्यस्तै, मालपोत कार्यालय गोटीखेलबाट ११२ वटा घरजग्गा किनबेच भएको छ । यस कार्यालयबाट बागमती, महांकाल र कोन्ज्योसोम गाउँपालिका भित्रका गिम्दी, गोटीखेल, चन्दनपुर, ठूलार्दुर्लुङ, बुखेल, मानिखेल, शंखु लगायत क्षेत्रको घरजग्गा किनबेच हुन्छ ।