काठमाडौं । घरजग्गा व्यवसायीहरूको संस्था नेपाल जग्गा तथा आवास विकास महासंघले जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था फराकिलो बनाउन माग गरेको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै सरकारसँग रियल स्टेट परियोजनामा विदेशी लगानी भित्राउन पाउने र विदेशीले पनि अपार्टमेन्ट खरिद गर्न पाउने कानुनी व्यवस्था गर्न माग गरेको हो ।
रियल स्टेटमा विदेशी कम्पनी भित्रााएमा र विदेशीले पनि नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने भएमा विदेशी मुद्रा सञ्चितीमा ठूलो योगदान पुग्ने महासंघको विश्वास छ ।
नेपाल सरकारले पटक पटक बजेटमा यो विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कानुनी व्यवस्था नभएकाले तत्काल कानुन निर्माण गर्न महासंघले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
यी व्यवस्था गर्न सकेमा घरजग्गा व्यवसायलाई उद्योगको रुपमा प्रवर्धन गर्न सहयोग मिल्ने र मुलुकको अर्थतन्त्र सुदृढ हुने महासंघको भनाइ छ ।
त्यस्तै, महासंघले नेपाल सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरी घरजग्गा व्यवसायमा हदबन्दी छुट दिने सम्बन्धी विद्यमान कानुनी व्यवस्थामा सुधार गरेको भन्दै सरकारप्रति आभार व्यक्त गरेको छ ।
अब अध्यादेशले गरेको व्यवस्था कार्यान्वयनका लागि भूमि तथा मालपोत नियमावलीहरूमा संशोधन गर्न र जग्गा प्रशासन सम्बन्धी निर्देशिका एवम् कार्यविधि परिमार्जन गर्न पनि महासंघले माग गरेको छ ।
महासंघले खरिदबिक्री भइसकेका घर तथा अपार्टमेन्ट भित्रका संस्थापक/कम्पनीकै नाउँमा रहेका सामूहिक प्रयोगको क्षेत्रको स्वामित्व हस्तान्तरण र त्यसको राजश्वका सम्बन्धमा समेत स्पष्ट कानुनी व्यवस्था गर्न पनि माग गरेको छ ।