तनहुँमा नागरिकताभन्दा राहदानी लिने धेरै

दमौली । तनहुँमा जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ७७७ राहदानी वितरण गरेको छ ।

राहदानी लिनेमध्ये ६ हजार ७३४ महिला र ९ हजार ५३ पुरुष रहेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोही अवधिमा १६ हजार ७४३ राहदानी सिफारिस गरिएको छ ।

कार्यालयले एक वर्षको अवधिमा ८ हजार ९५५ नागरिकता वितरण गरेको छ । तीमध्ये वंशजको आधारमा आठ हजार ९४६ र वैवाहिक अङ्गीकृतको आधारमा नौजनालाई नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमध्ये चार हजार सात सय २८ महिला र ४ हजार २२६ पुरुष छन् ।

यसैगरी, ७ हजार ६६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा नौ महिला र १९ पुरुष गरी २८ जनाको नागरिकता रद्द गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये गण्डकी प्रदेशमा तनहुँ उच्च भएकाले पनि नागरिकताभन्दा बढी राहदानी वितरण भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । उनका अनुसार कार्यालयबाट ५१५ जनालाई नाबालक परिचयपत्र, १४ जनालाई प्रतिलिपि वितरण गरिएको छ । २५ हजार २२७ जनाको राष्ट्रिय परिचयपत्र नयाँ दर्ता गरिएको छ भने १ हजार १४ परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ ।

८४५ लाई जनजाति प्रमाणित, ४१८ लाई दलित प्रमाणित, एक सयलाई विपन्न खस आर्य प्रमाणित, ३८ लाई मुस्लिम प्रमाणित गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । उनका अनुसार १५८ जनाको तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण गरिएको छभने १२ जनालाई यात्रा अनुमतिपत्र सिफारिस गरिएको छ ।

सोही अवधिमा कार्यालयमा १४५ मुद्दा दर्ता भएकामा ७९ फछ्र्यौट भएका छन् । संस्था दर्तातर्फ २५ नयाँ, ६८७ नवीकरण, हातहतियारतर्फ तीन नवीकरण र एक नामसारी भएका छन् ।

कार्यालयले संस्था दर्ताबाट रु १० लाख ३० हजार छ सय १०, हातहतियारबाट रु ६ लाख १ हजार १२५, राहदानी दस्तुरबाट रु ८ करोड ४६ लाख ५३ हजार ५००, न्यायिक दण्ड जरिवानाबाट रु ११ लाख ५० हजार ६३८, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु २ लाख २३ हजार राजश्व सङ्कलन गरेको जनाएको छ ।रासस

टाटा मोटर्सको 'श्रावणमै दशैं' अफर  Read Previous

टाटा मोटर्सको 'श्रावणमै दशैं' अफर 

विद्युत प्राधिकरणले लेखा समितिलाई पठायो 'एक गाडी' प्रमाण Read Next

विद्युत प्राधिकरणले लेखा समितिलाई पठायो 'एक गाडी' प्रमाण