बाढीले उपत्यकाका करिडोरको सडक प्रभावित, बल्खुमा ट्रक पल्टायो

काठमाडौं । मंगलबार राति परेको अविरल वर्षापछि आएको बाढीको कारण काठमाडौं उपत्यकाका दर्जन बढी ठाउँ डुबानमा परेका छन् ।

उपत्यकाका बागमती, विष्णुमती, धोवीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, नख्खु लगायत नदी तथा खोलाहरूमा आएको बाढीले नदी किनाराका अधिकांश बस्ती डुबाएको हो ।

हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको सूर्यविनायक, इन्द्रायणी, राधेराधे लगायत क्षेत्र डुबाएको छ । त्यसैगरी, धोवीखोलाले अनामनगर, बिजुलीबजार लगायत क्षेत्र डुबाएको छ ।

ललितपुरको गोदावरी खोलामा आएको बाढीले चाँगाथली, टिकाथली लगायत क्षेत्र डुबाएको छ । त्यस्नै, बागमतीमा आएको बाढीले च्यासल, शंखमूल, थापाथली, टेकु, बल्खु लगायत क्षेत्र डुबाएको छ । वागमतीको बाढीले बल्खु तरकारी बजार क्षेत्रमा रोकिराखेका दुई वटा ट्रक पल्टाएको छ ।

बाढीका कारण उपत्यकाका अधिकांश नदी करिडोरका सडक प्रभावित भएका छन् । गहिरो स्थान तथा पुल पानीको आहाल जमेको छ भने अन्य स्थानमा बालुवासहितको हिलो भरिएको छ ।

बाढी तथा डुबानबाट भौतिक क्षति भए पनि हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न डुबान क्षेत्रबाट २४ जनाको उद्धार गरेको छ ।

गएराति ११ बजेदेखि उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बागमती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती लगायत सबै खोलामा जलसतह खतराको नजिक पुगेको र ललितपुरको गोदावरीखोलाले जलसतह खतराको तह पार गरेको विभागको तथ्यांक छ ।

जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ। उक्त क्षेत्रमा रहनेहरूलाई बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ।

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

८ वर्षमा त्रिशूली खसेका २१ गाडी भेटिएनन्, ५५ जना बेपत्ता Read Next

८ वर्षमा त्रिशूली खसेका २१ गाडी भेटिएनन्, ५५ जना बेपत्ता