काठमाडौं । दक्षिण अफ्रिका आइसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा पुगेको छ । बिहीबार बिहान बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा भएको सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
दक्षिण अफ्रिका टी–२० विश्वकप इतिहासमै पहिलोपटक फाइनलमा पुगेको हो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो ।
दक्षिण अफ्रिकाका रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । त्यस्तै, एडेन माक्ररमले २१ बलमा ४ चौकासहित २३ रन र क्विन्टन डि ककले ५ रन बनाए । अफगानिस्तानका लागि तीव्र गतिका बलर फजलहक फारुकीको सानत्वना विकेट लिएका थिए ।
पहिला ब्याटिङ गरेको अफगानिस्तानका आजमतुल्लाह ओमरजाई १० रन बाहेक अरु खेलाडीले दोहोरो अंक बटुल्न सकेनन् । ११.५ ओभरमा ५६ रनमा अल आउट भएको अफगानिस्तानका ३ खेलाडी शून्य आउट भएका थिए ।
दक्षिण अफ्रिकाको तर्फबाट मार्को यानसन र ताबराइज शाम्सीले समान ३/३ विकेट लिए । त्यस्तै, कागिसो रबाडा र एनरिच नोर्कियाले समान २/२ विकेट लिए ।