काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८० स्वीकृत गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको समितिको १८ औं बैठकले कार्ययोजना स्वीकृत गरेको हो ।
स्वीकृत कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलनका साथै उद्दार तथा राहत सामग्रीहरुको मौज्दातीको विवरण समेटिएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले उपलब्ध साधन स्रोतको अधिकतम परिचालन गरी विपद् जोखिम न्यूनीकरण गर्नतिर ध्यान दिन निर्देशन दिए ।
उनले विगत वर्षहरुका कमजोरी तथा असावधानी पुनरावृति हुन नदिई कार्ययोजनाको ठोस कार्यन्वयन गर्न सबै निकायलाई निर्देशन दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले कार्ययोजना कार्यन्यवनमा सक्रियाताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्षको मनुसनबाट १२ लाख ५० हजार भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको बताए । उनले पूर्व सूचना तथा पूर्व कार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान गरिने बताए ।
उद्दारका लागि ‘ए क्लास’ एम्बुलेन्सहरु खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एक–एकवटा एम्बुलेन्स रहने व्यवस्था मिलाइएको जानकारी दिए ।
विपद स्वयंसेवक प्रणालीमा हालसम्म एक लाख ४२२ जना स्वयंसेवक सूचिकृत भइसक्नुभएको छ ।
प्रदेश प्रभावित हुनसक्ने जनसंख्या घरधुरी
कोशी प्रदेशमा कुल ३ लाख १ हजार १४३ घरधुरी रहेकोमा ६८ हजार ९११ घरधुरी जोखिम युक्त अवस्थामा छन् ।
मधेश प्रदेशमा ४ लाख ३ हजार १८० घरधुरी भएकोमा ९२ हजार २६१ घरधुरी जोखिममा छन् । बागमती प्रदेशमा ९६, हजार ८५८ घरधुरी रहेकोमा २२ हजार ३९३ घरधुरी जोशिमा छन् । गण्डकी प्रदेशमा ६९ हजार ७४४ घरधुरी रहेकोमा १५ हजार ९६० घरधुरी जोखिमयुक्त छन् ।
लुम्बिनी प्रदेशमा १ लाख ९९ हजार ८६२ घरधुरी मध्ये ४५ हजार ७३५ घरधुरी जोखिममा छन् । कर्णाली प्रदेशमा ३५ हजार ३३३ मध्ये ८ हजार ८५ घरधुरी र सुदूरपश्चिम प्रदेशमा १ लाख ४७ हजार ६० घरधुरी जोखिमा रहेको अनुमान गरिएको छ ।
विगतका तथ्यांकअनुसार इलाम, पाँचथर, धनकुटा, तेह्र्थुम, ओखलढुंगा, ललितपर, नवुाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी जिल्ला पहिरोको उच्च जोखिममा रहेका छन् ।
त्यसैगरि, बारम्बार बाढीबाट प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ्, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपर छन् ।