काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन-२ बाट कीर्तिमानी झन्डै ४३ हजार बढी मतान्तरले विजयी भएका छन् ।
सार्वजनिक अन्तिम मत परिणाम अनुसार रविले निकटतम प्रतिस्पर्धीलाई ४२ हजार ९६२ मतान्तरले पराजित गरेका हुन् ।
रविले पाएको मतान्तर प्रतिनिधि सभा सदयस्यको चुनावमा हालसम्मकै धेरै हो । यसअघि गत मंसिरमा लामिछानेले नै ३४ हजारको मतान्तरको रेकर्ड बनाएका थिए । अहिले उनले आफ्नै रेकर्ड तोडेका हुन् ।
रविले ५४ हजार १७६ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए । तेस्रो भएका नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन् ।
रविले खसेको कुल सदर मतको ६९ प्रतिशत मत पाएका हुन् । कुल ७८ हजार २७७ मत खसेको थियो ।गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए ।