तपाईंको भान्सामा रहेको ग्यास सिलिण्डरको म्याद सकिएको त छैन ? यसरी थाहा पाउनुहोस्

काठमाडौं । बुधबार राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता तथा सांसद चन्द्रप्रसाद भण्डारी गम्भीर घाइते भएका छन् भने उनकी आमाको निधन भएको छ । आज दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा ग्यासको सिलिण्डर पड्किँदा २ जना घाइते भएका छन् ।

गत चैत २० मा सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास सिलिण्डर पड्किँदा ३ जनाको मृत्यु भएको थियो । त्यस्तै, २०७५ चैत ११ मा सिन्धुपाल्चोककै माथिल्लो चाकु जलविद्युत् आयोजनाको स्टोरमा सिलिण्डर विस्फोट हुँदा ४ जनाको मृत्यु भएको थियो ।

यी केही प्रतिनिध घट्ना मात्र हुन् । पछिल्लो समयमा भान्सामा प्रयोग हुने ग्यास सिलिण्डर पड्कने क्रम बढ्दै गएको छ । प्रयोगकर्ता र उद्योगी दुवैको लापारबाहीका कारण यस्ता घट्न बढ्न थालेका हुन् ।

उद्योगीहरूले आफ्नो फाइदाका लागि वर्षौं पुराना अर्थात् म्याद गुज्रेका सिलिण्डर समेत बजारमा पठाउने गरेका छन् । उपभोक्ताहरूले पनि पसलेले जस्तो सिलिण्डर दियो त्यही ल्याएर प्रयोग गर्दै आएका छन् ।

उद्योगीले नाफाका लागि उपभोक्ताको ज्यानमाथि नै खेलवाड गर्दै आएका छन् । पटक पटक सिलिण्डर पड्किएर मानिसको ज्यान जाँदा समेत सरकारले उद्योगीलाई कडाइ गर्न सकेको छैन । राज्यको नजरअन्दाज, वेवास्ता र उद्योगीको नाफा केन्द्रीत स्वार्थका कारण सर्वसाधरणले भने अकालमै ज्यान गुमाउनु परिरहेको छ ।

म्याद ग्रुज्रिएका सिलिण्डर डिस्पोज गर्नु पर्ने भए पनि व्यवसायीले नाफाका लागि ग्यास भरेर बजार पठाउँदै आएका छन् भने सरकारले त्यसबारे कुनै अनुगमन तथा कारबाही गरेको पाइँदैन ।

ग्यास सिलिण्डर विस्फोटका घटना बढे पनि उद्योगी, विक्रेताले सिलिण्डरको प्रयोगको बारेमा उपभोक्तालाई सचेतना गराउने काम गरेका छैनन् । उपभोक्ता पनि आफू सचेत भएको पाइँदैन ।

सिलिण्डरको म्याद गुज्रेको कसरी थाहा पाउने ?

सिलिण्डरको म्याद थाहा पाउन त्यही गाह्रो छैन । हरेक ग्यास सिलिण्डरको माथिल्लो भाग (मुखनिर समाउने ३ वटा डण्डी अर्थात् ह्यांगर)मा त्यसको एक्स्पाएर्ड मिति अर्थात् आयु सांकेतिक रुपमा लेखिएको हुन्छ । त्यही लेखिएको आधारमा प्रयोग भइरहेको सिलिण्डरको म्याद सकिने मिति थाहा पाउन सकिन्छ ।

उदाहरणका लागि कुनै पनि सिलिण्डरको ह्यांगरमा अंग्रेजी अक्षर ए, बी, सी, डीसँगै अंकमा १८, १९, २०, २१, २२, २३, २५, २६ लगायतका अंकहरू लेखिएको हुन्छ । यसले सिलिण्डरको म्याद सकिने मिति जनाउँद छ ।

सिलिण्डरको ह्यांगरमा लेखिएको अंकले अंग्रेजी वर्ष जनाउँछ भने अल्फाबेटले महिना जनाउँदछ । १२ महिनालाई ३/३ महिनाका आधारमा ४ भागमा विभाजन गरिएको हुन्छ । ‘ए’ ले पहिलो ३ महिना अर्थात् जनवरी, फेब्रुअरी र मार्चलाई बुझाउँछ । त्यसैगरी, ‘बी’ले अप्रिल, मे, जुन, ‘सी’ले जुलाई, अगस्ट, सेप्टेम्बर र ‘डी’ले अक्टोबर, नोभेम्बर र डिसेम्बर जनाउँछ ।

उदाहरणका लागि A23 लेखिएको छ भने त्यो सिलिण्डरको म्याद मार्च २०२३ सम्म भन्ने बुझिन्छ । B26 लेखिएको छ भने जुन २०२६ सम्म भन्ने बुझिन्छ । त्यस्तै, C22 लेखिएको छ भने सेप्टेम्बर २०२२ र D25 लेखिएको छ भने डिसेम्बर २०२५ सम्म म्याद छ भन्ने बुझिन्छ

अन्तर्राष्ट्रिय मान्यता अनुसार सिलिन्डर पहिलोपटक बनेको मिति देखि १५–२० वर्षसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ। तर पहिलो पटकमा नै २० वर्षको मिति राख्न पाइँदैन। ५/५ वर्षमा हाइड्रोलिक टेष्ट गर्नुपर्दछ ।

बैंक तथा वित्तीय संस्थालाई नियमन गर्न 'हम्मेहम्मे' परेको राष्ट्र बैंकले कसरी गर्ला सहकारी ? Read Previous

बैंक तथा वित्तीय संस्थालाई नियमन गर्न 'हम्मेहम्मे' परेको राष्ट्र बैंकले कसरी गर्ला सहकारी ?

महिला र मिथिला लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

महिला र मिथिला लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?