सभामुखमा एमालेका घिमिरे निर्वाचित, कति पाए मत ?

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा १६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा १०० मत खसेको थियो । मतदानमा २६८ले भाग लिएका थिए । एक जनाले मत दिएनन् ।

मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले मत विभाजनको नतिजाबारे जानकारी दिँदै सदनको हाल कायम सङ्ख्याको बहुमत प्राप्त गरेकाले घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गरे ।

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने थिए । नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला थिए।

एमालेका घिमिरेलाई सत्ता साझेदार एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्तवन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दल तथा केही स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत पुस २५ गते बसेको थियो । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ ।

सेयर बजारमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

सेयर बजारमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

कृषक परिचयपत्रका लागि १० लाख किसान सूचीकरण, अब वर्गीकरण गरिने Read Next

कृषक परिचयपत्रका लागि १० लाख किसान सूचीकरण, अब वर्गीकरण गरिने