काठमाडौं । नेपालको ४४ औं प्रधानमन्त्रीको रुपमा सपथ लिएका पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनले पहिलो चरणमा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
नवगठित मन्त्रीमण्डलको उपप्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने, नेकपा एमालेका विष्णु पौडेल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ रहेका छन् । जसमा लामिछानेले गृह, पौडेलले अर्थ र श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्नेछन् ।
मन्त्रीहरुमा नेकपा एमालेका तर्फबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राईले सपथ लिएका छन् । उनीहरको कार्यभार पछि तोकिने छ ।
त्यसैगरी, मन्त्रीको रुपमा जनमत पार्टीका अब्दुल खानले पनि सपथ लिएका छन् । उनको पनि कार्यभार पछि तोकिने छ ।
सोमबार शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएकी छिन् ।
अन्य मन्त्रालय र मन्त्रीहरुको टुंगो सत्ता गठबन्धनका दलहरु बीचको आपसी छलफलका आधारमा टुंग्याइने जनाइएको छ ।