निर्वाचन २०७९ : पुराना उम्मेदवारलाइ नयाँको टक्कर, कहाँ को अघि ?

काठमाडौं । आइतबार सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मत गणना सुरु भइसकेको छ भने केही स्थानको मत परिणाम समेत आउन थालेको छ ।
मत गणना जारी रहेका सहरी इलाकाका निर्वाचन क्षेत्रहरुमा नयाँ उम्मेदवारले सुरुआती अग्रता लिएका छन ।

एकतिर काँग्रेस, माओवादी र एकिकृत समाजवादी सहितको बाम लोकतान्त्रिक गठबन्धन र अर्कोतर्फ एमाले, राप्रपाको गठबन्धनलाई टक्कर दिँदै रवी लामिछाने नेतुत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मतगणना जारी केही स्थानमा मतान्तर फराकीलो बनाउँदै लगेका छन ।

प्रारम्भिक मत परिणाम अनुसार काठमाडौंको क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता लिएका छन ।५०० सय मत गणना हुँदा खनालले १७२ मतसहित अग्रता लिएका छन् । उनको प्रतिस्पर्धी एमाले उम्मेदवार सर्वेन्द्र खनालले १४२ र नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधान १०८ मतसहित तेस्रो स्थानमा छन् । यो निर्वाचन क्षेत्रमा ३८ हजार ३८० मत खसेको थियो ।

काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष पुकार बम तेस्रो स्थानमा छन् । यस क्षेत्रमा पहिलो स्थान काँग्रेसका उम्मेदवार गणेशमान सिंहले लिएका छन भने दोस्रोमा रबीन्द्र मिश्रले पछ्याइ रहेका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार ललितपुरका तीन निर्वाचन क्षेत्रमा मतगणना भइरहेकोमा सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु तेस्रो स्थानमा छन् । ललितपुर १ मा सचिनकुमार घिमिरे, २ मा बुद्धरत्न महर्जन र ३ मा तोसिमा कार्की तेस्रो स्थानमा छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको लागि हालसम्म एक ठाउँको मत गणना सकिएर काँग्रेसका उमेदवार विजय भएका छन । मुस्ताङमा काँग्रेसका युवा उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन । २९ वर्षीय गौचनले एमालेका पूर्वसांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन ।

यो सामग्री तयार पार्ने अवधिसम्म मत गणना जारी स्थानमध्ये काँग्रेसले ३ स्थानमा अग्रता लिएको छ भने एकमा विजय भएको छ । एमाले ८, राष्ट्रिय स्वतन्त्र पार्टीले ४, राप्रपाले २ र जनमत पार्टीले एक स्थानमा अग्रता लिएका छन् ।

काठमाडौं ४ मा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता कायम गरेका छन् । थापाले ६ सय ६८ मत प्राप्त गरेका छन् । उनका प्रतिदन्द्धि नेकपा एमालेका राजन भट्टराईले ६ सय ३३ मत प्राप्त गरेका छन् । हालसम्म १५ सय ११ मत गणना गरिएको छ । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ठाकुरमोहन श्रेष्ठले ६५, मत प्राप्त गरेका छन् ।

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त(सीके) राउत प्रतिस्पर्धीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले पछि पारेका छन् ।

राउतले १०२० मत ल्याउदा एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादवले ४५२ मत ल्याएका छन् । तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ३०८ मत ल्याएका छन् ।

यसैगरी, काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले प्रतिस्पर्धीहरुलाई पछि पारेका छन् । मत गणना सुरु भएको क्षेत्र मध्ये भक्तपुरमा काँग्रेसका उम्मेदवारले एमालेका महेश बस्नेतलाई पछि पारेका छन् ।

नेपाल लाइफद्वारा ५४.७६ अर्ब दबी भुक्तानी Read Previous

नेपाल लाइफद्वारा ५४.७६ अर्ब दबी भुक्तानी

चार महिनामा ९६ अर्ब लगानीका उद्योग दर्ता, घट्दै वैदेशिक लगानी Read Next

चार महिनामा ९६ अर्ब लगानीका उद्योग दर्ता, घट्दै वैदेशिक लगानी