सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश, केन्द्रीय कारागारमा राखिने

काठमाडौं । क्रिकेटर तथा नेपाली राष्ट्रिय टिमका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

उनलाई सुन्धारास्थित केन्द्रीय कारागारमा राखिने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध १० देखि १२ वर्षको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अब मुद्दाको फैसला नहुन्जेल सन्दीप थुनामै रहने भएका छन् ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) बमाेजिम १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

गत भदौ २१ गते सन्दीपविरुद्ध नाबालिगले आफूलाई जबरजस्ती करणी गरेको भन्दै किटानी जाहरी दिएकी थिइन् । नाबालिगले क्रिकेटर सन्दीपले आफूलाई सिनामंगलस्थित ‘होटल काठमाडौं इन’ मा पटकपटक जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

 

नेपाल बैंकको कार्ड होल्डरले दराजमा ३ हजारसम्म छुट पाउने Read Previous

नेपाल बैंकको कार्ड होल्डरले दराजमा ३ हजारसम्म छुट पाउने

७ वाणिज्य बैंकको लाभांश घोषणा, ३ वटाले नगद मात्रै दिने, कुनको कति ? Read Next

७ वाणिज्य बैंकको लाभांश घोषणा, ३ वटाले नगद मात्रै दिने, कुनको कति ?