उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो । बैठकमा जम्मा २४२ जना सांसदको उपस्थिति रहेको थियो ।

सांसद भुसालले प्राप्त गरेको मत प्रतिनिधिसभामा तत्काल कायमको सङ्ख्याको बहुमत भएकाले उनी उपसभामुख पदमा निर्वाचित भएको सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा घोषणा गरेका थिए ।

यसअघि, बैठकमा सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले ‘यस सभाका माननीय सदस्य पुष्पा भुसाल (गौतम)लाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावको नेकपा (एकीकृत समाजवादी)की सांसद लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी थिइन् ।

त्यस्तै, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की सचेतक शान्ता चौधरीले ‘यस सभाका माननीय सदस्य श्री विद्या भट्टराईलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावको एमालेकै सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका थिए ।

तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते आफ्नो पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको थियो । करिब साढे दुई वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाएको हो । प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ४ गते बिहान ११ बजे बस्ने छ ।

साउन १ देखि गाडीको एलसी खुल्ने Read Previous

साउन १ देखि गाडीको एलसी खुल्ने

अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा