चाडपर्व लक्षित अनुगमनलाई उपभोक्ताले विश्वासै गर्दैनन्  : उपप्रमुख खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले चाडवाड लक्षित अनुगमनलाई उपभोक्ताले विश्वासै नगरेको बताएकी छन् । उनले शुक्रबार बसेको बजार अनुगमन समितिको बैठकमा बोल्दै यस्तो धारणा व्यक्त गरेकी हुन् ।

 

‘पर्वलगायत अवसरमा मात्र अनुगमनकर्ता सक्रिय हुने र अन्य समयमा निष्क्रिय देखियो भने उपभोक्ताहरुले अनुगमनलाई विश्वास गर्दैनन्,’ खड्कीले भनिन् । त्यसैले अब एक वर्षको नियमित तालिकामा बजारमा भएका हरेक चीजको निरीक्षण गर्नेमा खड्गीले जोड दिइन् । उनले पूर्वाधार विकास क्रमशः हुँदै जाने भएकाले जनचासोका विषयमा तत्काल सावधानी अपनाउनु पर्ने बताइन् ।

 

वाणिज्य तथा आपूर्ति विभागका सहायक सूचना अधिकारी दीपक पोखरेलले बजार गरिएका १० वटा सामानका अनुगमनमध्ये ७ वटामा कुनै न कुनै प्रकारका त्रुटी भेटिने गरेको बताए ।

 

उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजम तत्काल जरिवानाको व्यवस्था मिलाइएको छ । ऐनको दफा ३९ मा बजार अनुगमन, निरीक्षण, जाँचबुझ, वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट बस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल ५ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गराउने सक्ने व्यवस्था छ । यसरी गरिएको जरिवाना सम्बन्धि सूचना ३ दिनभित्र विभागमा दिनुपर्ने हुन्छ ।

 

नेपालको संविधान, २०७२ को अनुसूची ८ ले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकेको छ । उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु तथा सेवाको गुणस्तर, परिमाण र मूल्यको अनियमितताबाट उपभोक्तालाईं संरक्षण प्रदान गर्न बजार अनुगमन आवश्यक रहन्छ ।

 

अनुगमनका क्रममा वस्तु वा सेवाको उत्पादन स्थल वा भन्सार विन्दु, ढुवानी मार्ग, भण्डारण तथा सञ्चय स्थल, थोक तथा खुद्रा बिक्री स्थल, उपभोग स्थल लगायतका ठाउँहरू वस्तु वा सेवा प्रदायक, बिक्रेताको व्यवसायिक कारोवारको दर्ता, नविकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापनलगायतका व्यापारिक क्रियाकलाप हेरिन्छ ।

 

बैठकपछि आज सुन्धारा क्षेत्रमा भएका होटल, रेष्टुरेन्ट तथा खाजा घरको अनुगमन गरिएको थियो । त्यस क्रममा सरसफाइ, दर्ता र नविकरण, पोशाक, खाद्यवस्तुको गुणस्तरमा कमजोरी पाइयो, महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए ।

 

‘सुधारको मौका दिएर छोडियो, अबको अनुगमनलाई सुध्रिने मौका दिनेभन्दा जिम्मेवारी के थियो भन्ने कोणबाट बढी हेरिने,’ भण्डारीले भने ।

फोन पेमा मर्चेन्टको संख्या ५० हजार नाघ्यो Read Previous

फोन पेमा मर्चेन्टको संख्या ५० हजार नाघ्यो

प्रभु बैंकका २४ शाखा दशैंको विदाको दिनमा पनि खुल्ने (सूचीसहित) Read Next

प्रभु बैंकका २४ शाखा दशैंको विदाको दिनमा पनि खुल्ने (सूचीसहित)