छठको तयारी पूरा, सिंगारियो गौरीघाट (फोटो फिचर)

काठमाडौं । काठमाडौंको गौरीघाटमा छठको लागि तयारी पूरा भएको छ । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको तयारी पूरा भएको गौरीघाट समितिले जानकारी दिएको हो ।

 

छठका लागि जाग्रम बस्ने ठाउँ, घुम्ती शौचालय, सुरक्षा, पाल, ओछ्याउना, कार्पेट, मुढा बाल्ने र स्वास्थ्य सेवा तथा एम्बुलेन्स सेवा, लगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको समितिले जनाएको छ ।

‘छठको लागि हामीले सम्पुर्ण तयारी पूरा गरेका छौं, घाट लिन आउनेहरुको क्रम जारी छ,’ चाणक्य पोष्टसँग गौरीघाट छठ समितीका सदस्य अनिल सिंहले भने ।

 

सिंहका अनुसार यो वर्ष गौरीघाटमा ६७० सिट उपलब्ध गरिएको छ । एक (एक मिटर) घाटको लागि ११ सय रुपैयाँ तिर्नपर्ने छ ।

‘गतवर्षदेखी नै कोभिडको जोखिमको कारण धेरै ब्रतालुहरु आफ्नो घर फर्केको र आफ्नै घरको छतमा समेत पूजा गर्ने भएकाले विगतको वर्ष झैँ भीड होला जस्तो छैन, हाल सम्म ३५० घाट बुक भएको छ, करिब ४०० हाराहारीमा घाट बुक हुन्छ,’ सिंहले भने ।

 

बत्ति, टेन्ट, प्रसाद, लेवर, लगायत गरेर छठ व्यवस्थापनको लागि १६ लाख लाग्ने अनुमान समितिले गरेको छ । तर आर्थिक अवस्था कमजोर भएका र छठको पूजा गर्न इच्छुक व्यक्तिलाई निःशुल्क ३० वटा घाटको व्यवस्था गरेको र आवश्यकता अनुसार प्रसाद र लुगा समेत व्यवस्था गर्ने सिंहले जानकारी दिए ।

छठ पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १३ कम्पनी Read Previous

सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १३ कम्पनी

यतीले ल्यायो दुई गन्तव्यको सस्तो टिकट अफर, कहाँको कति ? Read Next

यतीले ल्यायो दुई गन्तव्यको सस्तो टिकट अफर, कहाँको कति ?