उपत्यकामा जारी निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याइयो, अहिलेसम्म खुला यी काम गर्न रोक
चाणक्य पोष्ट
प्रकाशित : 1:48 pm, मंगलबार, वैशाख २८, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

 

यसअघि उपत्यकामा वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञाको समय भोलि राति १२ बजेसम्म थियो ।निषेधाज्ञाको समयवधि थपिएको यो दोस्रो पटक हो । यसअघि १६ गतेदेखि जारी निषेधाज्ञाको समायवधि २१ गते एक साता थप्दै वैशाख २९ सम्म लम्ब्याइएको थियो ।

 

अबको निषेधाज्ञा अहिलेकोभन्दा थप कडा हुने जनाइएको छ । बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य  रोक्ने निर्णय गरेको छ ।

 

यस्तै, खाद्यान्न तथा तरकारीका पसल बिहान १० बजेसम्म खोल्न दिने तर फुटपाथमा तरकारीलगायतका कुनै पनि व्यापार गर्न नदिने व्यवस्था गरिएको छ ।  बैठकले अत्यावश्यकबाहेक कामका सरकारी तथा अन्य कार्यालयहरू पनि बन्द गर्ने निर्णय गरेको छ ।

 

यस्तै, होटल, पार्टी प्यालेसमा हुने विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पूर्ण रुपमा रोक लगाउने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । यसअघि विहे, ब्रतबन्धजस्ता कार्यक्रममा १५ जनासम्म सहभागी हुन पाइने व्यवस्था थियो ।