काठमाडौं। विकाससोन्मुख देशहरुमध्ये नेपाल लगानीको लागि सबैभन्दा धेरै सुधार भैरहेको देशको सूचीमा पहिलो बनेको छ। यूरोमनिडटकमले हालै विश्वका विभिन्न १ सय ८६ देशहरुमा गरेको एक सर्वेक्षणका अनुसार सन् २०१९ मा नेपाल लगानीकर्ताहरुको आकर्षणको देश बनेको देखिएको छ।
यसो भन्दैमा नेपाल लगानीकर्ताहरुका लागि पूर्ण जोखिमरहित देश बनिसकेको अवस्था पनि होइन। लगानीकर्ताहरुले अझै पनि नेपाललाई बहुतै सावधानीपूर्वक हेरिरहेको सर्वेक्षणले जनाएको छ।
सर्वेक्षण भएका विकासोन्मुख देशहरुमध्ये नेपाल ‘टप इम्प्रुभर’ हो। नेपालले वैश्विक जोखिमको सूचीमा सन् २०१८ मा भन्दा पाँच अंकले सूधार गर्दै १४ स्थान फड्किएर माथि आएको हो। गत पाँच वर्षको अवधिमा नेपालले २४ स्थान उक्लिसकेको छ जुन सुधारलाई सर्वेक्षणले उल्लेखनिय सुधार भनेको छ।
यसैगरी सुधार भएका देशहरुमा मालदिभ्स दोस्रो तथा इथियोपिया तेस्रो भएको छ। त्यसपछि जाम्बिया, बारबाडोस, जमाइका, लाइबेरिया, मोल्दोभा, ग्रिस र बंगलादेशले टप टेनको सूचीमा आफ्नो नाम सुरक्षित गरेका छन्। यी सबै देशहरुले आफ्नो राजनीतिक, आर्थिक तथा संरचनागत जोखिमको सूचकको अध्ययनका आधारमा उत्कृष्ट दश देशभित्र परेका हुन्।

सर्वेक्षणलाई राजनीतिक आर्थिक तथा संरचनागत जोखिमका विभिन्न १५ वटा सूचकहरुका आधारमा अध्ययन गरिएको थियो। नेपालले ति सबै सूचकहरुमा सुधार गरेको छ।
सन् २०१७ को चुनावपछि देशले राजनीतिक स्थिरता पाएको तथा सरकारमा स्थायित्व आएकोलाई सर्वेक्षणले सकारात्मक तथा सबैभन्दा बढी सुधारको पक्ष मानेको छ। यस अध्ययनमा सर्वेक्षण विज्ञका रुपमा काम गरेका अर्थशास्त्री चन्दन सापकोटाका अनुसार नेपालको राजनीतिक स्थिरता, गत तीन वर्षमा भएको उच्च आर्थिक वृद्धि, न्यून मुद्रा स्फिती तथा संघीयतालाई संस्थागत गर्न भैरहेको सुधारका लागि नेपालले सुधारको सूचीमा उत्कृष्ट स्कोर पाएको हो।
नेपालको गत केही वर्षको तथ्यांकलाई हेर्दा वास्तविक जिडीपीमा उल्लेखनीय सुधार भएको छ। सन् २०१७/१८ मा ६.३ प्रतिशत तथा सन् २०१६/१७ मा ७.९ प्रतिशत वद्धि भएको देखिएको छ।
नेपालमा केही समय यता पूर्वाधार विकासमा ठूलो लगानीहरु भैरहेको छ। चीन र भारतले पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गरिरहेको तथा अझै लगानीको अवसर खोजिरहेको अध्ययनमा उल्लेख छ।
सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माणकालागि विभिन्न दातृ निकायबाट पनि नेपाललाई उल्लेखनीय सहयोग प्राप्त भैरहेका छन् जसले गर्दा पूर्वाधार तथा परियोजनाहरु निर्माणले तीव्रता पाएको हो।