टोलै थर्काउने गरी बाइक चलाउने विरुद्ध कडा एक्शन, बाटोमा देखे १०३ मा खबर गर्न आग्रह

काठमाडौं । माइतिघर सडक छेउमा एक महिला दूधे बालक बोकेर उभिइरहेकी थिइन् । बालक रमाइरहेको थियो । यसैबीच सडकमा एकजना झल्लाले बेस्सरी आवाज आउने मोटरसाइकल हुँइक्यायो । बच्चोको सातो गयो, कोहोलो हालेर रुन थाल्यो । आमाले झल्लालाई धारेहात लाउँदै ‘असत्ती’ भनिन् र बच्चोलाई कोलाहा कोलाहा भन्दै फकाउन थालिन् ।

 

एउटा परिवार मोटरसाइकलमा सवार थियो । आमा, बाबु र सानो बच्चा । आफ्नै साइडमा विस्तारै जाँदै थियो त्यो परिवार । एक्कासी कतैबाट एउटा युवक मोटरसाइकलमा ‘जिग ज्याक’ हान्दै आयो । त्यो परिवारको अगाडि बाँकटे हान्दै गोली आए झैं आयो र अलप भयो । बाबुले उक्त धुन्धकारी मोटरसाइकल चाकलबाट जोगिन झ्याप्प ब्रेक हाने । एक्कासी ब्रेक हान्दा मोटरसाइकलले सन्तुलन गुमायो र पर्लक्क पल्टियो । परिवार जसोतसो उठेर लुगामा लागेको धूलो झार्न थाल्यो । त्यतिबेलासम्म त्यो धुन्धकारी ५ किलोमिटर पर पुगिसकेको हुँदो हो !

 

यस्ता घटना नेपालका सहरी क्षेत्रमा दैनिक देखिइरहन्छन् । अपूरो ट्राफिक नियम र अनुगमन प्रभावकारी नहुँदा यस्ता गैरजिम्मेवार मोटरसाइकल चालकहरु कारबाहीको दायरामा पर्ने गरेका पनि थिएनन् ।

 

यो अवस्थामा अब केही परिर्वतन आउने संकेत देखिन थालेको छ । यस्ता गैरजिम्मेवार चालकहरुलाई अहिले ट्राफिक प्रहरीले कारबाहीमा तीव्रता दिन थालेको छ ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ । महाशाखाले यसअवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाइकलहरुलाई कारबाही गरेको जनाएको छ ।

 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदूषण हुने भएकाले कारबाही गरिएको जानकारी दिए ।

 

जथाभावी रूपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ ।

 

महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदूषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रूपमा चलाउने कार्यहरु कानून विपरीत भएकोले कारवाही गरेको हो ।

 

यस्ता गलत गरी चलाउने मोटरसाइकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निग्ररानीमा राखिएको महाशाखाले जनाएको छ । यस्ता किसिमका मोटरसाईकलहरू कतै गुडिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराउन सम्पूर्ण नागरिकहरूमा महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ह्वात्तै घट्यो Read Previous

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ह्वात्तै घट्यो

चिनी मिलले तिरे उखु किसानको ३१ करोड, अझै ३२ करोड भुक्तानी हुन बाँकी Read Next

चिनी मिलले तिरे उखु किसानको ३१ करोड, अझै ३२ करोड भुक्तानी हुन बाँकी