भक्तपुरका सबै सरकारी कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।

 

काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

 

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको दर अत्यधिक बढिरहेकाले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक भई सेवाग्राहीमा समेत सङ्क्रमण फैलन सक्ने अवस्था भएको उनले उल्लेख गरिन् ।

 

गत असोज २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्लाको कुनै पनि भागमा कुनै पनि सेवा रोक लगाउन सक्ने निर्णय गरेको थियो । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९०० नाघेकाले जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयका अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय लगायतसितको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा सेवा प्रवाह बन्द गरिएको हो । जिल्लाका नगरपालिकाहरुले समेत अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।

 

चाँगुनारायण नगरपालिकाले कार्यालयका कर्मचारी र केही जनप्रतिनिधिमा कोरोना सङ्क्रमण बढेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिका कार्यालयले आगामी १५ गतेसम्मका लागि कार्यालय खाले पनि सीमित कर्मचारीले अत्यावश्यक सेवा मात्रै दिने गरी व्यवस्था गरेको छ ।

 

यस्तै सूर्यविनायक नगरपालिकाले आफ्ना सबै कर्मचारीको स्वाब सङ्कलन गरी कात्तिक २ देखि नगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको छ । नगरपालिकाले स्वाब दिएका सबै कर्मचारीलाई होम क्वारेन्टिनमा राखेको छ भने कात्तिक १२ गते पुनः कर्मचारीको पीसीआर परीक्षण गरी १५ गते रिपोर्ट आएपछि मात्रै १६ गतेदेखि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

यसैगरी मध्यपुरथिमि नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण भएपछि एक महिनादेखि अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्दै आएको छ । नगरपालिकाले दशैँ अगाडिसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

प्रभु लाइफ इन्सुरेन्सको ६० लाख कित्ता आइपीओ आउँदै, इक्रा नेपालले दियो यस्तो रेटिङ Read Previous

प्रभु लाइफ इन्सुरेन्सको ६० लाख कित्ता आइपीओ आउँदै, इक्रा नेपालले दियो यस्तो रेटिङ

नवीकरण शुल्क नबुझाउने २५ कम्पनी नेप्सेको कारबाहीमा, यी ५ कम्पनीको सेयर कारोबार रोक्का Read Next

नवीकरण शुल्क नबुझाउने २५ कम्पनी नेप्सेको कारबाहीमा, यी ५ कम्पनीको सेयर कारोबार रोक्का