युनिसेफले नेपालसहित ९२ देशलाई कोरोनाको खोप किन्न सहयोग गर्ने

काठमाडौं । कोरोना भाइरस महामारीको अन्त्य गर्ने ठानिएको प्रभावकारी खोप बजारमा आउनेबित्तिकै विश्वभरि आपूर्ति गर्ने कठिन चुनौतीका माझ संयुक्त राष्ट्रसङ्घको बालबालिका सम्बन्धी निकाय युनिसेफले नेपालसहित निम्न आय तथा निम्नमध्यम आय भएका ९२ वटा देशका निम्ति सहजीकरण गरिदिने जनाएको छ।

 

एउटा विज्ञप्ति जारी गर्दै युनिसेफले विभिन्न खोप उत्पादकहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिरहेको समयमा उसले कोभ्याक्स सुविधाको तर्फबाट ती देशहरूका निम्ति खोप खरिद गरी आपूर्ति गर्ने जनाएको छ। यसका साथै उसले ढुवानी, बन्दोबस्ती तथा भण्डारणको काम गर्ने बताएको छ।

 

नेपाल सहित निम्न आय भएका देशहरूमा स्वास्थ्यकर्मीहरूलाई तथा उच्च जोखिममा रहेका मानिसहरूलाई खोप दिलाउन, अनि ती देशमा आवश्यकताअनुसार आपूर्ति गर्न बफर स्टक बनाउन प्रारम्भिक पूँजी उपलब्ध गराउनेछ।

 

उल्लिखित कार्यहरूका लागि युनिसेफले विश्व स्वास्थ्य सङ्गठन, गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल), विश्व ब्याङ्क, पीएएचओ (प्यान अमेरिकी स्वास्थ्य सङ्गठन), बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनलगायतका संस्थासँग सहकार्य गर्ने बताइएको छ।

 

कसले बेहोर्छ खर्च ?

 

‘निकट भविष्यमै उपलब्ध हुने कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्नबाट कुनै पनि देश वञ्चित हुनुनपरोस् भनी कोभ्याक्स सुविधा सबै देशहरूका निम्ति खुल्ला गरिएको छ।’

 

कोभिड–१९ सम्बन्धी विभिन्न खोप निर्माताहरूले बनाइरहेका विभिन्न खोपको अनुसन्धान, विकास, उत्पादनमा सघाउ पुर्‍याउन तथा तिनको मूल्य निर्धारण गर्ने विश्वव्यापी मञ्चको रूपमा कोभ्याक्स गठन भएको हो।यसमा सहभागी सबै देशले खोपको विकास हुनेबित्तिकै त्यसमा समान पहुँच पाउने जनाइएको छ।

 

कोभ्याक्सको प्रारम्भिक लक्ष्य भनेको सन् २०२१ को अन्त्यसम्ममा खोपका २ अर्ब डोज (मात्रा) उपलब्ध गराउनु हो। जोखिममा परेका मानिस तथा अग्रपङ्तिमा रहेका स्वास्थ्यकर्मीहरूलाई सुरक्षित पार्न त्यो पर्याप्त हुने उसले बताएको छ।

 

सोही कोभ्याक्ससँगको सहकार्यमा युनिसेफले खोपको बन्दोबस्तीमा सहजीकरण गर्ने बताएको हो।खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीले नेपाल सहित निम्न आय भएका देशहरूमा स्वास्थ्यकर्मीहरूलाई तथा उच्च जोखिममा रहेका मानिसहरूलाई खोप दिलाउन, अनि ती देशमा आवश्यकताअनुसार आपूर्ति गर्न बफर स्टक बनाउन प्रारम्भिक पूँजी उपलब्ध गराउनेछ।

 

‘यी विषयका विस्तृत जानकारी आगामी साताहरूमा आउनेछन् र ती जानकारी नेपालसहित सम्बन्धित देशहरूसँग सेप्टेम्बरको अन्तिमतिर बाँडिनेछ। त्यतिखेर गाभीको बोर्ड बैठकले लागत बाँडफाँटबारे निर्णय गर्नेछ,’ युनिसेफको काठमाण्डू कार्यालयकी सञ्चार प्रमुख तानिया धाख्वाले भनिन्।

 

विकसित तथा धनी देशबीच खोपको सुविधा उपभोग सबभन्दा पहिले गर्न संसारमा प्रतिस्पर्धा चलिरहेका बेला गरिब तथा कमजोर मुलुकहरूका निम्ति यो सञ्जाल उपयोगी हुने बताइएको छ।

कोभिड–१९ खोपका लागि अग्रीम रूपमा गाभीले गरेको प्रतिबद्धतामा सहभागी हुनका लागि नेपालले भदौ ४ गते आशयपत्र बुझाएको गाभी सचिवालय तथा कोभ्याक्स सुविधाले पुष्टि गरेका छन्।

 

विकसित तथा धनी देशबीच खोपको सुविधा उपभोग सबभन्दा पहिले गर्न संसारमा प्रतिस्पर्धा चलिरहेका बेला गरिब तथा कमजोर मुलुकहरूका निम्ति यो सञ्जाल उपयोगी हुने बताइएको छ।

 

युनिसेफको स्थापित क्षमता

 

विश्वभरि नै खोप कार्यक्रममा युनिसेफको स्थापित क्षमता छ। करिब १०० देशको तर्फबाट नियमित खोप कार्यक्रमसहित महामारीको समयमा खोप उपलब्ध गराउनका लागि वार्षिक २ अर्बको सङ्ख्यामा खोप खरिद गर्ने विश्वकै ठूलो खरिदकर्तामा युनिसेफ पर्छ।

 

‘आफ्नो बजार विश्लेषण तथा खरिद कार्यसम्बन्धी विज्ञता उपयोग गर्दै युनिसेफले कोभ्याक्स सुविधाको लागि कोभिड–१९ विरुद्धको खोप खरिद एवं आपूर्ति कार्यका लागि समन्वय गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ।

 

नेपालमा पनि युनिसेफ सरकारको राष्ट्रिय खोप कार्यक्रमको एउटा मुख्य साझेदार हो। उसले नेपालभरि खोप सेवा प्रवाह सुदृढ पार्न प्राविधिक तथा वित्तीय सहयोग दिँदै आएको छ।

 

सबै बालबालिकामा खोपको पहुँच सुनिश्चित गर्न तथा खोपको ओसारपसारका लागि आवश्यक चिसो भण्डारणका बन्दोबस्ती मिलाउन युनिसेफले सहयोग गर्ने गरेको बताएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बालबालिकाको निम्ति मात्रै आठथरी खोप विभिन्न समयमा गरी उपलब्ध गराइँदै आएको बताइन्छ।

 

कोभिड–१९ का सन्दर्भमा युनिसेफले हालसम्म सञ्चालित विश्वकै सबभन्दा ठूलो र तीव्र संयन्त्रमा कोभिड–१९ को खोप खरिद तथा आपूर्तिको नेतृत्व गर्ने बताइएको छ।

 

युनिसेफ सहित साझेदारहरूले अहिले खोपका निम्ति आवश्यक पर्ने सुरक्षित सुई तथा चिसो राख्नका निम्ति आवश्यक उपकरण जोहो गर्ने तथा उचित ओसारपसार, भण्डारण र वितरणसम्बन्धी निर्देशिका र तालिम गर्ने, छिटोछरितो ढुवानी अनि जोखिममा परेकाहरूका निम्ति खोप लक्षित गर्ने विषयमा तयारीहरू गरिरहेको जनाएका छन्।
-बीबीसी

हाइड्रोको सेयरले किन तान्दै छ लगानीकर्तालाई ? यस्ता छन् आकर्षित हुनुका कारण Read Previous

हाइड्रोको सेयरले किन तान्दै छ लगानीकर्तालाई ? यस्ता छन् आकर्षित हुनुका कारण

३ वर्षपछि खुल्यो जग्गाको कित्ताकाट, यस्तो जग्गा मात्र प्लटिङ गर्न पाइने Read Next

३ वर्षपछि खुल्यो जग्गाको कित्ताकाट, यस्तो जग्गा मात्र प्लटिङ गर्न पाइने