सरकारी सेवा धमाधम बन्द गरिँदै, भोलिदेखि काठमाडौंका मालपोत नखुल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड १९ बढ्दै गएपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोलि (मंगलबार) देखि मालपोत कार्यालयहरु बन्द गर्ने भएको छ ।

 

विभागका निर्देशक भरत गौतमका अनुसार भोलिबाट काठमाडौंका ६ वटा मालपोत कार्यालयहरुमा सार्वजनिक कारोबारमा रोक लगाउन लागेको हो ।सो विषयमा आज छलफल भएको भन्दै उनले भोलिबाट आन्तरिक कामहरु बाहेकका सेवाहरु बन्द हुने बताए ।

 

‘कोभिड १९ बढिरहेको छ, भोलिबाट काठमाडौंका मालपोत कार्यालय बन्द गर्ने भएका छौँ, अब सार्वजनिक सेवाहरु पहिले जस्तै ठप्प हुन्छन्, भित्री काम निरन्तर हुनेछ,’ निर्देशक गौतमले चाणक्य पोष्टसँग भने ।

 

उपत्यकामा कोरोना बढ्न थालेपछि मालपोत कार्यालयहरुमा धेरै भीडभाड हुने र सेवाग्राहीले समेत नियम पालना नगर्ने भएकाले मालपोत कार्यालयहरुबाट कारोबार बन्द गर्न लागिएको उनले बताए ।

 

भूमि तथा सहकारी मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार आफ्नो अवस्था हेरेर भीडभाड बढे वा संक्रमण देखिन थालेमा विभाग आफैले त्यस अनुसार निर्णय गर्न पाउने व्यवस्था रहेको छ । त्यस अनुसार विभागले सो निर्णय लिन र कार्यान्वयन गर्न सक्ने भन्दै उनले हालसम्म सो निर्णय भइसकेर कुनै जानकारी विभागबाट नआएको बताए ।

 

चाबहिल मालपोत कार्यालयका प्रमुख कलकबहादुर खड्काले सोमबार सबै मालपोत कार्यालयहरुले कोभिड बढेको भन्दै मालपोत कार्यालय बन्दगरी आन्तरिक कामहरु मात्र गर्न अनुरोध गरेको थियो । उनले विभागसँग भीडभाड बढ्दै गरेको र चाबहिलका विभिन्न १९ स्थानमा कोभिड भेटिएकाले सार्वजनिक सेवा कार्य बन्द गर्न अनुरोध गरिएको बताए । उनले हालसम्म निर्देशन आइनसकेको बताए ।

सेयर बजारमा उच्च अंकको वृद्धि, १ अर्ब ५५ करोडको कारोबार Read Previous

सेयर बजारमा उच्च अंकको वृद्धि, १ अर्ब ५५ करोडको कारोबार

नेप्सेद्वारा एनआडीसी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण खारेज Read Next

नेप्सेद्वारा एनआडीसी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण खारेज