काठमाडौं । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।
महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाएको जानकारी दिए। साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकललगायत अत्यावश्यक सवारी साधनबाहेक अरूलाई रोक लगाएको उनको भनाइ छ ।
विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको बताउँदै प्रनाउ जोशीले पैदल यात्रीलाई समेत रोक लगाएको बताए । उनले साँझ ७ देखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकलबाहेकका सबै प्रकारका यातायातका साधनलाई प्रवेशमा रोक लगाएको बताए। पास भएका सवारी साधन पनि साँझ ७ बजेदेखि प्रवेश गर्न पाउने छैनन् ।
ढुवानीका साधन भने राति १० देखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाउनेछन् तर ढुवानीका साधनमा पनि एक चालक र एक सहचालकबाहेक अरू व्यक्ति रहेको पाइए प्रवेशमा रोक लगाइने प्रनाउ जोशीले बताए।
प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आह्वान गरेको छ । राति ९ देखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाएको छ । काभ्रेबाट उपत्यका प्रवेश गर्नेको हकमा नागरिकता वा परिचयपत्र वाहकलाई मात्र प्रवेश गर्न दिएको छ ।