काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको मौद्रिक नीति सकरात्मक रहेको नेपाल उद्योग परिसंघले जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै परिसंघले सरकारले राखेको ८.५% को आर्थिक वृद्धि लक्ष्यलाई मौद्रिक नीतिले सहयोग पुर्याउने भन्दै सन्तुष्टि जनाएको छ ।
मौद्रिक नीतिमा बैंक दरमा कटौती गरिनु, पुनरकर्जाको दर घटाईनु, व्याजदर कोरीडोरलाई प्रभावकारी रुपले लागू गर्ने प्रावधान ल्याईनु सकारात्मक पक्ष भएको परिसंघले जनाएको छ ।
यस्तै बैंक तथा वित्तिय संस्थाहरुले विदेशबाट ऋण प्राप्त गर्ने श्रोतको दायरा फराकीलो बनाईनु, गैर आवासी नेपाली तथा संस्थागत विदेशी निक्षेपकर्ताबाट विदेशी मुद्रा निक्षेप संकलन गर्न सक्ने प्रावधान अत्यन्तै सकारात्मक भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस्तै विदेशी ऋणको व्याजमा समेत राष्ट्र बैंक लचिलो हुनुले आगामी दिनहरुमा तरलताको वृद्धि भई ब्याजदरमा समेत कमि आउने अपेक्षा गरेको छ ।
समग्रमा मौद्रिक नीतिले वित्तीय सन्तुलन कायम गरेको र सरकारले लिएको विकासको लक्ष्य हासील हुनेमा परिसंघ आशावादी रहेकोे विज्ञप्तिमा उल्लेख गरेको छ