काठमाडौं । यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन चार कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार राजस्व रकम हिनामिना गरेको आरोपमा उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले तत्कालीन कार्यालय प्रमुख गोपाल थपलिया, भुपेन्द्र राई, नयराज नेपाल, तिर्थराज लम्सालसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
यस्तै, तत्कालीन लेखापाल सुरेश अधिकारी, रुद्र प्रसाद दाहाल, अर्जुन भट्टराई, कृष्ण प्रसाद कट्टेल, तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारी, कम्प्युटर अपरेटर सुजन राई लगायतलाई प्रतिवादी बनाइएको छ।
उनीहरुलाई न्यूनतम ४५ हजारदेखि अधिकतम ५ करोड ९५ लाख गरी करिब ४२ करोड रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र जरिवाना एवं बिगो असुल गर्न मागसहित विशेष अदालत आरोपपत्र दायर गरिएको छ।
