साढे ९ करोड जनसंख्या भएको भियतनामले एकजना नगुमाई यसरी गर्‍यो कोरोना नियन्त्रण, नेपालले के सिक्ने

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको अहिले संसारका प्रायः सबैदेशलाई आक्रान्त बनाएको छ ।

 

विश्वका आफूलाई ‘सुपर पावर’ ठान्ने अमेरिकासहित, वेलायत, फ्रान्स, इटली, रसियाजस्ता देशलाई कोरोना नियन्त्रणमा लिन हम्मे हम्मे परिरहेको छ । स्रोत र साधन सम्पन्न यी देशहरुमा कोरोना नियन्त्रण काबु बाहिर गएको छ ।

 

तर, आफूलाई समाजवादी देश भन्न रुचाउने भियतनामले भने एक जनाको पनि ज्यान नगुमाई कोरोना नियन्त्रणमा लिन सफल भएको छ ।

 

कुल ९ करोड ७० लाख जनसंख्या भएको भियतनाममा अहिलेसम्म कोरोनाका कारण कसैको ज्यान गएको छैन भने संक्रमितको संख्या पनि न्यून छ।आइतबारसम्म सम्म त्यहाँ केवल ३२८ जना संक्रमित भेटिएका छन् । भने २७९ निको भएर फर्किसकेका छन् ।


भियतनाममा धेरैजसो जनसंख्या न्यून मध्यम वर्गका छन् । त्यहाँको स्वास्थ्य सेवा अमेरिका, यूरोपजस्ता विकसित राष्ट्रभन्दा कमजोर नै छ । तर पनि त्यहाँ कोरोनाको त्रास फैलिएको छैन् ।

 

योजनाबद्ध रुपमा गरिएको लकडाउन

 

भियतनामले कोरोना विरुद्धको लडाईमा सावधानीका कारण सफलता हासिल गरेको हो । उसले सुरुमै तीन हप्ताका लागि लकडाउन घोषणा गर्‍यो । अप्रिलको अन्तिममा देशको अवस्था समीक्षा गरेर लकडाउन हटाइदिएको छ । लकडाउन हटाएपछि ४० दिनसम्म कुनै संक्रमण भेटिएन ।

 

व्यापार, व्यवसाय र स्कुलहरु पुनः खुल्ला गरिएका छन् र आम जनजीवन फेरि सामान्यतर्फ अग्रसर भइरहेको छ ।

 

यो एकदमै सुरुवाती अवस्थाको कुरा हो जतिबेला विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने पुष्टि गरेको थियो ।

 

जतिबेला नेपालमा पर्यटन वर्षको तयारी भइरहेको थियो, त्यतिबेला त्यहाँ सावधानीका सबै उपायहरु अपनाइएको थियो ।

 

तीव्र ट्रयाक ट्रेसिङ

 

उसले विश्व स्वास्थ्य संगठनको निर्देशन पनि कुरेन । तापक्रम अलिकति बढी भेट्नासाथ उसले नागरिकलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टिमा राख्न थालिहाल्यो ।

उसले जनवरीको अन्तिमबाट नै चीनसँग सम्पर्क तोडिसकेको थियो । किनकि भियतनाममा पहिलो केस २३ जनवरीमा देखिइएको थियो । यसपछि देशका सबै सीमा नाका बन्द भए । विमानस्थल बन्द गरिए र हरेक स्थानमा थर्मल स्क्रिनिङ अनिवार्य गरियो ।

 

तर केहीलाई भने भियतनाम सरकारको यो आधिकारिक आँकडा माथि आशंका पनि हुन सक्छ । विश्व बैंकका अनुसार भियतनाममा १० हजार नागरिकलाई ८ डाक्टर उपलब्ध छन् ।

 

देशमा रहेका ६३ वटा प्रान्तीय, ७०० वटा जिल्लास्तरीय र ११ हजारवटा सामुदायिक रोग नियन्त्रण केन्द्रहरुबाट संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ गरिएको थियो ।

 

संक्रमितहरुलाई उनीहरुले बितेको १४ दिनभित्र भेटेका सबै जनाको सूची बनाउन लगाइएको थियो । कोरोना संक्रमितहरु कहिले र कहाँ कहाँ देखिएका थिए भन्ने जानकारी दिन टिभी र पत्रपत्रिकामा सूचनाहरु जारी गरिएका थिए ।

 

संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गर्न आदेश

 

भेतनाम सरकारले त्यसबेला कोरोना संक्रमितको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्न आदेश दिएको थियो ।

 

जब हानोईमा अवस्थित सबैभन्दा ठूलो बाच माई अस्पताल दर्जनौं संक्रमितका साथ कोरोनाको हटस्पट बन्यो, तब अधिकारीहरुले अस्पतालको स्वास्थ्य सेवामा लकडाउन गर्दै अस्पतालसँग जोडिएका र सम्पर्कमा आएका करीब १ लाखको पहिचान गरेर परीक्षण गरेका थिए ।

 

प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यकेन्द्र, होटल र मिलिटेरी क्याम्पको क्वारेन्टिनमा राखिएको थियो । केही अप्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई भने सेल्फ क्वारेन्टिनमा बस्न भनिएको थियो ।

 

मे १ सम्म करीब ७० हजार जनतालाई सरकारी सुुविधायुुक्त क्वारेन्टिनमा राखिएको थियो भने १ लाख ४० हजार जनालाई होटेल र घरको क्वारेन्टिनमा राखिएको थियो ।

 

प्रभावकारी सार्वजनिक सूचना अभियान

 

भेतनाम सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी रुपमा सञ्चार माध्यमको प्रयोग गर्यो । उसले कोरोनाबारे जनतालाई सचेत बनाउन विभिन्न सचेतनामूलक सन्देश, गिति भिडियोहरु प्रसारण गर्ने अभियान समेत चलायो । जसले नागरिकलाई सचेत बनाउने काम गर्यो ।

 

स्वास्थ्य मन्त्रालयले नियमित रुपमा जनताका मोबाइलमा सचेतनामूलक एसएमएसहरु पठाएको थियो । कोरोना सम्बन्धी जानकारी र केही समस्या परे हटलाइन नम्बरको व्यवस्था गरिएको थियो ।

 

लगातार उच्च आर्थिक वृद्धि हासिल गर्न सफल

 

भियतनाम पछिल्लो समय लगातार उच्च आर्थिक वृद्धि हासिल गर्न सक्ने देश बनेको छ । सन् १९९२ देखि १९९७ सम्म भियतनामको आर्थिक वृद्धिदर लगातार ८ प्रतिशतभन्दा बढी थियो । विगत ४ वर्षयता पनि भियतनामले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्दै आएको छ ।

 

विश्वभर खपत हुने कफीको १६ प्रतिशत उत्पादन गर्ने भियतनाम काजु उत्पादनमा पनि विश्वकै अग्रणी देश हो ।

 

भियतनामले विश्वभर खपत हुने काजुको ३७ प्रतिशत उत्पादन गर्छ । ९४ प्रतिशत साक्षरता दर रहेको भियतनाम आफ्ना नागरिकालाई रोजगार दिने देशमा अग्रणी स्थानमा पर्छ ।

 

भौतिक विकासमा पनि भियतनाम उत्कृष्ट देखिएको छ । भियतनामले मान्छेको हातमा थामिएको डिजाइनमा बनाएको दान्या दान्याङको सुन्दर पुललाई सुनको डोरी नाम दिएको छ ।

 

भगवानले थामेको भनिने यो पुल १ सय ५० मिटर लामो छ । यो पछिल्लो समय भियतनामले भौतिक पूर्वाधारमा गरेको विकासको नमूना बनेको छ ।

 

भियतनामले सन् २००६ मा लगानीसम्बन्धी कानुन पास गरेसँगै विश्व व्यापार संगठनले भियतनाम विदेशी लगानीका लागि उपयुक्त देश रहेको घोषणा गरेको थियो ।

 

सन् १९८६ र १९८७ मा बाहेक भियतनामको कुल गार्हस्थ्य उत्पादन बर्सेनि ५ प्रतिशतभन्दा माथि छ । बिजनेस मनिटर इन्टरनेसनलले भियतनामलाई राजनीतिक र नीतिगत स्थिरता भएको देशको सूची अन्तर्गत दोस्रो स्थानमा राखेको छ ।

-एजेन्सीको सहयोगमा

सहकारी मार्फत २६ लाखलाई रोजगार दिन सकिने Read Previous

सहकारी मार्फत २६ लाखलाई रोजगार दिन सकिने

बजेटमा ल्याएको टुक्रेटाक्रे कार्यक्रमले जनतालाई राहत पुग्दैन, सीधै नगद दिने व्यवस्था गरौं : डा. बाबुराम भट्टराई Read Next

बजेटमा ल्याएको टुक्रेटाक्रे कार्यक्रमले जनतालाई राहत पुग्दैन, सीधै नगद दिने व्यवस्था गरौं : डा. बाबुराम भट्टराई