काठमाडौं । सरकारले लकडाउन ११ दिनका लागि थप गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि थपिएको लकडाउनको समयवधि बिहीबार सकिँदै छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको समयवधि थपेको यो पाँचौ पटक हो ।
देशमा कोरोना सङ्क्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकाले लकडाउनको अवधि लम्ब्याइएको बताइएको छ । सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो ।
त्यस्तै, दोस्रो पटकमा त्यसलाई लम्ब्याउँदै चैत २५ गतेसम्म पुर्याइएको थियो । तेस्रो चरणमा बैशाख ३ गतेसम्म घोषण गरेको थियो भने चौथो चरणमा वैशाख १५ गतेसम्म पुर्याइएको थियो भने त्यसपछि वैशाख २५ गतेसम्म लम्ब्याइएको थियो ।
हालसम्म नेपालमा ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये १६ जना उपचारपछि निको भइसकेका छन् भने अन्य देशका विभिन्न अस्पतालमा उपचाररत छन् । पछिल्लो समय देशका भिन्नाभिन्नै ठाउँमा कोरोना देखिने क्रम तीव्र रुपले बढेको छ ।