लक्षण नै नदेखिएका व्यक्तिमा कोरोना देखिएपछि डब्लूएचओको टोली नेपालगञ्जमा

लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली नेपालगञ्ज आइपुगेको छ ।

 

नेपालगञ्जमा देशभरमै धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि डब्लुएचओको स्वास्थ्यकर्मी तथा प्राविधिक टोली नेपालगञ्ज आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार टोलीले नेपालगञ्जका विभिन्न टोल तथा बस्ती पुगेर स्वाब संकलनमा सहजीकरण गरिरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका–८, महेन्द्रपार्क नजीक पाल लगाएर बाँकेको स्वास्थ्य टोलीसँग डब्लुएचओको उक्त टोलीले कोरोना भाइरस आंशकितको स्वाब संकलनमा सहयोग गरिरहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

 

चिकित्सकलगायत प्राविधिक रहेको टोलीका सदस्यहरुको विस्तृत विवरण खुलाइएको छैन ।  डब्लुएचओको टोली यतिबेला नेपालगञ्जको कोरोना संक्रमित स्थलमा काम गरिरहेको छ ।

 

बुधबारदेखि स्वाब संकलन तथा परीक्षणमा पनि उक्त टोलीले सहकार्य गरेर काम गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। उनले भने, ‘जिल्लाका स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न आएको डब्लुएचओको टोलीले यहाँ आवश्यकताअनुसारका काम गर्नेछ ।’

 

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाका अनुसार पहिलो संक्रमितको सम्पर्कमा आएका १०५ जनाकै रिपोर्ट आइसकेको छ । आइतबार ६० जनाको आउँदा १५ जनामा संक्रमण देखिएको थियो भने बाँकी मंगलबार ४५ जनाको रिपोर्ट आउँदा सात जनामा पोजेटिभ देखिएर बाँकेमा संक्रमितको कुल संख्या २३ पुगेको छ ।

खर्च बढ्दा बैंक अफ काठमाण्डूको नाफा ३३ करोड घट्यो Read Previous

खर्च बढ्दा बैंक अफ काठमाण्डूको नाफा ३३ करोड घट्यो

दक्षिण एशियामा कोरोना : भारतमा डढेलो जस्तै फैलिँदै, अरु देशको यस्तो छ अवस्था Read Next

दक्षिण एशियामा कोरोना : भारतमा डढेलो जस्तै फैलिँदै, अरु देशको यस्तो छ अवस्था