काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अहिले विश्वलाई नै आक्रान्त बनाएको छ । २०१९ को अन्त्यतिर चीनको वुहान सहरमा देखिएको यो भाइरस अहिले विश्वका २१२ देशमा फैलिसकेको छ ।
बुधबार बिहानसम्ममा ३७ लाख २७ हजारसंक्रमित भएका छन् भने २ लाख ५८ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्लो समय कोरोनाको उद्गमस्थल चीनको जनजीवन सामान्य हुँदै गएको छ ।
कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा यसको संक्रमण हुने दरमा कमी आएको छैन भने इटाली, स्पेन, फ्रान्स, वेलायत लगायत देशमा पछिल्ला दिनहरुमा यसको फैलावट दर केही कम देखिएको छ ।
१ महिना अघिसम्म सामान्य अवस्थामा रहेका दक्षिण एसियाली देशहरुमा पनि पछिल्लो दुईसातादेखि यो डढेलोसरी फैलिरहेको छ । दक्षिण एसियाली देशमा मुख्य गरी कोरोनाबाट भारत, पाकिस्तान बढी प्रभावित भएका छन् भने यी देशमा यसको प्रकोप तीव्र रुपमा बढ्दो छ ।
दक्षिण एशिएका नेपाल र भुटान बाहेक अन्य देशमा कोरोना भाइरसका कारण २ हजार ५०८ मानिसको मृत्यु समेत भइसकेको छ भने अहिलेसम्म करिब ८७ हजार ५३६ जना संक्रमित भएका छन् ।
यस्तो छ दक्षिण एशियाली देशहरुको पछिल्लो अवस्था :
नेपाल
नेपालमा हालसम्म ८२ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्। १६ उपचारपछि निको भएर घर फर्केका छन् भने अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यद्यपि, निको भएर फर्किएका ३ जनामा पुनः कोरोना देखिएको बताइएको छ ।

अहिले कर्णाली प्रदेश बाहेका अरु सबै प्रदेशमा कोरोना संक्रमण फैलिसकेको छ । उदयपुरको भुल्के र बाँकको नेपालगञ्ज हटस्पट बनेका छन् । भुल्केमा मात्रै २८ जना र नेपालगञ्जमा २३ संक्रमित छन् । भलै, अहिलेसम्म नेपालमा कोरोनाका कारण मानिसको मृत्यु भएको पुष्टि भएको छैन ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले पहिलो चरणमा चैत ११ गतेदखि लागू गरेको लकडाउन वैशाख २५ गतेसम्म कायम गरिएको छ भने अझै लकडाउन थप्ने सरकारको तयारी छ ।
भारत
दक्षिण एशियाली देशहरुमा भारत कोरोनाको इपिसेन्टर बन्दै गएको छ । पछिल्लो २ सातामा मात्रै यहाँ ३० हजारभन्दा बढी संक्रमित थपिएका छन् । कोरोनाका कारण भारतमा अहिलेसम्म १ हजार ६९३ जनाको मत्यु भइसकेको छ भने साढे ४९ हजार जनामा संक्रमण देखिएको छ । पछिल्ला दिनहरुमा भारतमा औसतमा ३ हजारभन्दा बढी नयाँ संक्रमित देखिन थालेका छन् ।
कोरोनाको संक्रमण फैलिन नदिन भारतले पनि डेढ महिनादेखि लक डाउन लागू गरेको छ । संक्रमण फैलिँदै गएपछि अहिले भारतको अवस्था झन जटिल बन्दै गएको छ ।
लकडाउन घोषणा गरेसँगै भारत सरकारले अर्थतन्त्र उकास्न तथा नागरिकको खानपिन लागि १ लाख ७० हजार करोड बराबरको राहत प्याकेज समेत ल्याइसकेको छ । करिब ८० करोड नागरिकलाई ३ महिनासम्म निशुल्क खाद्यान्न दिने घोषणा गरेको छ ।
पाकिस्तान
पाकिस्तान भारतपछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो। यहाँ साढे २२ जनामा संक्रमण देखिएको छ भने ५२६ जनाको मृत्यु भइसकेको छ ।
प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै चीनसँग सहयोग मागेका थिए। चीनले केही स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएको छ।
बंगलादेश
बंगलादेशमा अहिलेसम्म १० हजार ९२९ जना कोरोना संक्रमित भेटिएको छ । बंगलादेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८७२ पुगेको छ। संक्रमितमध्ये १ हजार ४०३ जना उपचारपछि निको भइसकेका छन् ।
कोरोना भाइरसको संक्रमित सुरु भएसँगै बंगलादेशले सार्वजनिक यातायात र अन्तरिक उडानमा समेत रोक लगाएको थियो। यद्यपि पछिल्लो समय त्यहाँ गार्मेन्ट लगायतका कारखाना सञ्चालनमा ल्याएको छ ।
श्रीलंका
श्रीलंकामा बुधबार बिहानसम्ममा कोरोना भाइरस संक्रमितको संख्या ७७१ पुगेको छ भने ९ जनाको मृत्यु भएको भइसकेको छ ।
श्रीलंकाका प्रधानमन्त्री गोतावे राजपाक्षले संक्रमित बिरामी देखिने बित्तिकै सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेका थिए। आन्तरिक हवाई यात्रामा पनि रोक लगाएका थिए। त्यहाँ अनिश्चितकालीन कर्फ्यू कायम छ।
भुटान
दक्षिण एशियाली देशमध्ये भुटानमा सबैभन्दा कम प्रभावित मुलुक हो । भुटानमा अहिलेसम्म ७ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ५ जना उपचारपछि निको भइसकेका छन् । सुरुमा भारतबाट छिरेका एक व्यक्तिमा कोरोना देखिएपछि भुटानले सबै नाकाहरु बन्द गरेको थियो। अहिले भुटानमा नयाँ संक्रमित थपिएका छैनन्।
अफगानिस्तान
अफगानिस्तानमा ३ हजार २२४ जनामा कोरोना संक्रमण देखिएको छ। ९५ जनाको मृत्यु भएको छ भने ४२१ जना निको भइसकेका छन् ।पाकिस्तान र भारतसँग सीमा जोडिएका कारण अफगानिस्तानमा पनि संक्रमित बढ्ने सम्भावना रहेको भन्दै उसले सबै सीमानाका बन्द गरेको छ।
माल्दिभ्स
माल्दिभ्समा ५७३ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। हालसम्म त्यहाँ २ जनाको मृत्यु भएको छ भने २० जना उपचारपछि निको भइसकेका छन् ।