काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउने संख्या संख्या २ लाख नाघेको छ । संक्रमितको संख्या साढे २९ लाखभन्दा माथि पुगेको छ।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट विश्वमा २ लाख ३ हजार २८९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमण २१० देशमा फैलिसकेको छ भने संक्रमितको संख्या २९ लाख २१ हजार २०१ पुगेको छ।
यसैबीच कोरोना संक्रमितमध्ये ८ लाख ३६ हजार ९७० जना उपचारपछि निको भएको वर्ल्डोमिटरले जनाएको छ। हाल विश्वका विभिन्न अस्पताल र घरमै बसी १८ लाख ८० हजार ९४२ जना कोरोना संक्रमित उपचाररत छन्। उपचाररतमध्ये ५७ हजार ८६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको भने १८ लाख २३ हजार ७९ जनाको अवस्था सामान्य रहेको छ।
कोरोनाबाट सबैभन्दा क्षति अमेरिकाले व्यहोरेको छ । आइतबार बिहानसम्म अमेरिकामा ५४ हजार २६५ जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या साढे ९ लाख नाघेको छ । यो विश्वकै कुल संक्रमितको ३३ प्रतिशत हो ।
यस्तै कोरोनाबाट दोस्रो धेरै ज्यान गुमाउनेमा इटली छ । हालसम्म इटलीमा कोरोनाबाट २६ हजार ३८४ जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या १ लाख ९५ हजार पुगेको छ ।
यस्तै कोरोनाबाट युरोपेली देशहरु स्पेन, फ्रान्स, वेलायत, जर्मनी पनि अति प्रभावित भएका छन् । हालसम्म स्पेनमा २२ हजार ९०२, फ्रान्समा २२ हजार ६१४ र वेलायतमा २० हजार ३१९ को ज्यान गइसकेको छ ।
