नेपाल एयरलाइन्स चार्टर्ड गरेर माल्दिभ्सले लग्यो आफ्ना १८ नागरिक

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले माल्दिभ्सका १८ नागरिक बोकेर बंगलादेशको राजधानी ढाका उडेको छ । निगमको न्यारोबडी ए३२० जहाजले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाकाका लागि उडान भरेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

 

लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई माल्दिभ्सले निगमको जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको हो । काठमाडौं–ढाका उडान करिब एक घण्टाको हुनेछ । ढाका पुगेर निगमको जहाज आजै स्वदेश फर्कनेछ । ढाकाबाट ती १८ मल्दिभ्सका नागरिक अर्को जहाजमार्फत गन्तव्यमा पुग्‍ने जनाइएको छ । पछिल्लोपटक यही वैशाख २ गते निगमको न्यारोबडी जहाजले ३४ ब्राजिलियनलाई भारतको नयाँदिल्ली पुर्‍याइदिएको थियो ।

 

यसअघि निगमको वाइड बडी जहाजले गत चैत १९ गते अस्ट्रेलियाको सहर ब्रेसबनमा सीधा उडान गरेको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा उडान गरेको थियो । ती सबै चार्टर्ड उडान हुन् । निगमका दुई वाइड बडी ए३३० जहाजले गत चैत १६, २० र वैशाख ४ गते दुई गरी चार वटा कार्गो उडान गरी चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएका थिए ।

 

लकडाउनको अवधिमा निगमका अन्तर्राष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले आठ अन्तर्राष्ट्रिय उडान भरेको छ । यीमध्ये चार उद्धार उडान र चार कार्गो उडान हुन् । वाइड बडी बडी ए-३३० दुई र न्यारोबडी ए-३२० दुई थान जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस

भारतको केरल भोलिबाट खुल्ने, यसरी चल्ने छन् रेष्टुरेन्ट र सवारीसाधन Read Previous

भारतको केरल भोलिबाट खुल्ने, यसरी चल्ने छन् रेष्टुरेन्ट र सवारीसाधन

राहतमा अण्डा, दूध र मासुजन्य वस्तु दिन प्रस्ताव, किसानले मूल्य र उपभोक्ताले सस्तोमा किन्न पाउने Read Next

राहतमा अण्डा, दूध र मासुजन्य वस्तु दिन प्रस्ताव, किसानले मूल्य र उपभोक्ताले सस्तोमा किन्न पाउने