काठमाडौं । हप्तौंदेखि लकडाउनमा रहको भारतको केरलाको कम्तीमा १४ जिल्लामा सोमबार देखि जनजिवन केही ‘नर्मल’ हुने भएको छ । रेष्टुरेन्टहरु खुल्ने भएका छन् । र, निजी गाडीहरु पनि सिमित संख्यामा जोर–बिजोर प्रणाली अन्र्तगत चलाउन दिइने भएको छ ।
अहिले राज्य सरकारले केरलालाई रातो, सुन्तला ए, सुन्तला बी र हरियो गरेर चार क्षेत्रमा बिभाजन गरेको छ । यसैअनुरुप राज्य सरकारले ३ वटा क्षेत्रहरुलाई चरणबद्ध रुपमा खोल्ने र रातो क्षेत्रलाई भने बन्दै गर्ने योजना केन्द्र सरकार समक्ष पेश गरिसकेको छ ।
केन्द्र सरकारले केरलाको यो प्रस्तावमा स्वीकृति दिइसकेको छ । विगत ७ दिन यता केरलामा संक्रमितहरुको संख्याले दैनिक रुपमा दोहोरो अंक छोएको छैन भने मानिसहरु निको हुने संख्यामा पनि बढोत्तरी आएको छ ।
सोमबारदेखि हरियो क्षेत्रमा परेका दुई जिल्ला कोट्टायाम र इड्डुकीको जनजिवन झण्डै झण्डै सामान्य हुने बताइएको छ । हाल ती जिल्लाहरुमा संक्रमितहरु छैनन् । यसैगरि सुन्तला बी क्षेत्रमा परेका ५ वटा जिल्लामा पनि धेरै प्रतिबन्धहरु खुकुलो पारिने बताइएको छ ।
हरियो क्षेत्रमा परेका माथि उल्लेखित २ जिल्लाहरुमा रेष्टुरेन्टहरु सामान्य अवस्थामा जस्तै गरेर खुल्नेछन् भने सुन्तला बी क्षेत्रमा परेका जिल्लाहरुका रेष्टुरेन्टहरु बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्नेछन् । ती रेष्टुरेन्टहरुले भने सामाजिक दुरीको साथै स्यानिटाइजरहरुको पनि प्रयोग गर्नुपर्ने छ र घर बाहिर निस्कने मानिसहरुले पनि मास्क अनिवार्य रुपमा लगाउनुपर्नेछ ।
त्यसैगरी सोमबार, बुधबार र शुक्रबार बिजोर नम्बरका गाडीहरु चलाउन दिइनेछ भने मंगलबार, बिहिबार र शनिबार जोर नम्बरका गाडीहरु चलाउन दिइनेछ । अत्यावश्यक सवारीको लागि भने यो नियम लागु हुने छैन ।
सुन्तला ए क्षेत्रमा परेका रेष्टुरेन्टहरु भने आगामी अप्रिल २४ देखि खुल्नेछन् ।
हरियो क्षेत्रमा परेका क्षेत्रहरुमा भने अन्य व्यवसायीक गतिबिधिका अलावा लुगा पसलहरु पनि खोल्न दिइनेछ ।
किराना पसलहरु बिहान ७ बजे देखि बेलुकी ५ बजेसम्म खुल्नेछन् । बीमा, सरकारी लगायत वित्तिय संस्थाहरु सिमित कर्मचारी राखेर खुल्ने छन् भने बैंक र सरकारी कार्यालयहरु सामान्य ढंगले नै खुल्ने छन् ।
यसैगरी फोन, चस्मा, कम्प्युटर, अटो लगायत पसलहरु हप्तामा २ दिन खोल्न दिइनेछ । यसैगरी किताब पसल र सैलुनहरु पनि हप्तामा २ पटक खुल्ने छन् ।
सबैखाले पुजाआजा गर्ने स्थानहरु, स्कुलहरु, कलेजहरु र सपिङ मलहरु र कोची मेट्रो भने मे ३ तारिखसम्मै बन्द हुने छन् । टाइम्स अफ इन्डियाबाट