काठमाडौं । सरकारले लकडाउन १२ दिनका लागि थप गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि थपिएको लकडाउनको समयवधि बुधबार सकिँदै छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको समयवधि थपेको यो तेस्रो पटक हो ।
देशमा कोरोना सङ्क्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकाले लकडाउनको अवधि लम्ब्याइएको बताइएको छ । सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो ।
त्यस्तै, दोस्रो पटकमा त्यसलाई लम्ब्याउँदै चैत २५ गतेसम्म पुर्याइएको थियो भने तेस्रो चरणमा बैशाख ३ गतेसम्म घोषण गरेको थियो ।
त्यस्तै, मन्त्रिपरिषद्को आजको बैठकले वैशाख १८ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय पनि यसअघि गरिसकेको छ ।
हालसम्म नेपालमा १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो समय देशका भिन्नाभिन्नै ठाउँमा कोरोना देखिने क्रम बढेको छ ।