कोरियाले भिसा अवधि समाप्त भएकाको म्याद ३ महिना थप्ने

काठमाडौं । दक्षिण कोरिया सरकारले भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः ३ महिना थप गर्ने भएको छ ।

 

कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको न्याय मन्त्रालयले बिहीबार जनाएको छ । यसबाट कोरियामा रहेर भिसा अवधि समाप्त भएका र हुनलागेका नेपालीले पनि भिसा अवधि बढाउन सक्नेछन् ।

 

आगामी मे अन्त्यसम्म कोरियामा कार्यरत ६० हजार विदेशी मजदूरको भिसा सकिँदै छ । विशेषत उनीहरूलाई लक्षित गरी यो निर्णय गरिएको हो । यसरी भिसा थपिएको यो दोस्रोपटक हो ।

 

कोरोना भाइरस समस्याकै कारण यसअघि फेब्रुअरीमा पनि कोरिया सरकारले भिसा अवधि समाप्त भएका विदेशीलाई ५० दिन भिसा थप्ने निर्णय गरेको थियो । उक्त निर्णयबाट भिसा अवधि समाप्त भएका नेपालीलगायत एक लाख ३० हजार विदेशी नागरिकले आफ्नो भिसा अवधि बढाएका थिए ।

 

यो निर्णयसँगै फेब्रुअरीमा ५० दिन भिसा थप गर्नेहरूले पनि पुनः तीन महिनाको भिसा थप्न सक्नेछन् । यद्यपि इ–९ र इ–१० भिसाबाहकले भने आफ्नो देशको अवस्था बुझाएर मात्र भिसा थप गर्न सक्नेछन् ।

 

हाल कोरियामा आउने सबै किसिमका भिसा कोरिया सरकारले बन्द गरेको छ । उक्त अवधिमा कोरियामा हुने कामदारको अभावलाई समेत यस भिसा अवधि थपको नीतिले पूर्ति गर्ने देखिन्छ ।

 

भिसा थप गर्न चाहने विदेशीले अध्यागमनको वेबसाइट www.hikorea.go.kr वा फोन नम्बर १३४५ मा सम्पर्क गरी थप जानकारी लिन सकिने जनाइको छ ।

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः किरणकुमार श्रेष्ठ नियुक्त Read Previous

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः किरणकुमार श्रेष्ठ नियुक्त

निर्माण व्यवसाय परिषद्ले सातै प्रदेशलाई १३/१३ लाख दिने Read Next

निर्माण व्यवसाय परिषद्ले सातै प्रदेशलाई १३/१३ लाख दिने