काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोनका भाइरस (कोभिड १९)ले अहिले विश्वलाई नै आक्रान्त बनाएको छ । यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ ।
सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि बैशाख ३ गतेसम्म लकडाउन घोषणा गरेको छ । साथै कोरोनाको नियन्त्रण तथा सम्भावित संक्रमण हुन सक्ने व्यक्तिहरुको परीक्ष तीव्र बनाएको छ । राज्यका सबै निकाय परिचालन गरी तीव्र रुपमा अगाडि बढी रहेको छ ।
यसैबीच हरेक विपत्को घडीमा साथ दिँदै आएको नेपाली सेनाले कोरोना विरुद्ध लड्न पनि चुस्त व्यवस्थापन गरेको छ । सेनाले कोरोनाको संभावित संकटलाई मध्येनजर गर्दै क्वारेन्टाइन, आइसोलेसन निर्माणदेअि हरेक क्षेत्रमा तैनाथ भएर काम गरिरहेको छ ।
सेनाले प्रत्येक प्रदेशमा आफ्नो क्वारेन्टाइनको व्यवस्था गरेको छ भने देशभर आफ्ना २ हजार ८२ स्वास्थ्यकर्मी परिचालन गरेको सेना प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
सेनाले कोरोना संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको छ । उसले शान्ति सेना तथा बाहिरबाट तालिम लिएर फर्किएकालाई समेत क्वारेन्टाइनमा राखेको छ ।

हालसम्म यसरी आएका २७ जनालाई क्वारेन्टाइनमा राखेको उनले बताए । पाण्डेका अनुसार ११ जना विदेशमा तालिमा लिएर आएका, १४ जना शान्ती सेनाबाट फर्किएका र ६ जना विदेशबाट छुट्टीमा आएका छन् । उनीहरुलाई २१ दिनका लागि क्वारेन्टाइनमा राखिएको उनले बताए ।
यस्तै सेनाले विरेन्द्र अस्पतालमा १ सय बेडको हाई क्वारेन्टाइन निर्माण गरेको छ । त्यसमा ३० वटा बेडमा अक्सीजनसहितको श्यया राखिएको छ । सेनाले हालसम्म ४ हजार ३१७ श्यया क्षमताको क्वारेन्टाइन स्थापना गरिसकेको पाण्डेले बताए ।
सेनाले उपत्यकामा मात्र ४८९ क्वारेन्टाइनको व्यवस्था गरेको छ । ३६० आइसोलेसन र १०६ अकुपाइडको व्यवस्था गरिएको छ । सेनाका अनुसार उपत्यकामा २८ सेना स्वास्थ्यकर्मी हेल्थ डेस्कमा खटाइएको छ । उनका अनुसार हाल सेनाले कोरोना परीक्षणका लागि नमूना संकलन गर्न थालेको छ ।
सेनाले र्यापिड डाइरेक्सन टिम बनाएर काम गरिरहेको उनले जानकारी दिए । क्वारेन्टाइनहरुमा ७००, आइसोलेसनमा ९०० र्यापिड डाइरेक्सन टिममा ५८७ र स्यासेन्ट रिसिभिङ डेस्कमा १४१ स्वाथ्यकर्मी खटाइएको उनले बताए । मंगलबारसम्म मात्र सेनाले ८४७ वटा पेट्रोलिङ गरेको छ ।
प्रत्येक प्रदेशमा सेनाको व्यवस्था
हाल सेनाले प्रदेश स्तरमै आफ्नो सेवा सुचारु गरेको छ । सेनाले देशभर २६ हजार ५८७ क्वारेन्टाइनको व्यवस्था गरेको छ । देशभर ३ हजार १८९ आइसोलेसन निर्माण गर्नुका साथै ४ हजार ८८७ अकुपाइडको व्यवस्था गरेको छ ।

सेनाले प्रदेश १ मा १ हजार ३५६ क्वारेन्टाइन बनाएको छ । ३४८ वटा आइसोलेसन तयार गरेको छ । ५०८ अकुपाइडको व्यवस्था गरेको छ भने १२ जना स्वाथ्यकर्मी खटाएको छ ।
यस्तै प्रदेश २ मा २ हजार ५७८ क्वारेन्टाइन व्यवस्था गरिएको छ । ३६५ आइसोलेसन निर्माण गरिएको छ । सो स्थानमा ३८१ अकुपाइड व्यवस्था गरिनुका साथै १४६ स्वास्थ्यकर्मी खटाइएको सेनाले जनाएको छ । प्रदेश ३ हेटौंडामा ५३६ क्वारेन्टाइनको व्यवस्था गरेकोे छ । ६४२ आइसोलेसन सहित २५२ अकुपाइडको व्यवस्था गरिएको छ । सो क्षेत्रमा सेनाले आफ्ना ५६ स्वास्थ्यकर्मी खटाएको छ ।
गण्डकी प्रदेशको पोखरामा ३११ क्वारेन्टाइन, ४०३ आइसोलेसन सहित १५४ अकुपाइडको व्यवस्था गरिएको सेनाले जनाएको छ । त्यस्तै प्रदेश ५ को बुटवलमा ३ हजार ६१२ क्वारेन्टाइन, ३८४ आइसोलेसन, ७५६ अकुपाइडको व्यवस्था गरिएको छ । बुटवलमा सेनाले आफ्ना ७ स्वास्थ्यकर्मी खटाएको छ ।
प्रदेश ६ को सुर्खेतमा ३ हजार ९८७ क्वारेन्टाइन, ३३० आइसोलेसन, १ हजार ३५५ अकुपाइडको व्यवस्था गरेको छ भने ९७ स्वास्थ्यकर्मी खटाइएको छ । त्यस्तै प्रदेश ७ मा ७ हजार ११८ क्वारेन्टाइनको व्यवस्था गरिएको छ । सो क्षेत्रमा २८९ आइसोलेसन, १ हजार ९१६ अकुपाइडको व्यवस्था गरेको छ भने १०७ स्वास्थ्यकर्मी खटाएको छ ।
५२० हेल्थडेस्क स्थापना

सेनाले प्रदेशस्तरमै हेल्थ डेस्कको व्यवस्था गरेको । सेनाले देशभर ५२० हेल्थडेस्क स्थापना गरी सेवा सुचारु गरेको छ । ती हेल्थडेस्कमाहरुमा ३१६ स्वास्थ्यकर्मी परिचालन गरिएको प्रवक्ता पाण्डेले बताए ।
उपत्यकामा मात्र सेनाले ५३ वटा हेल्थडेस्क स्थापना गरेको छ भने ५१ जना स्वास्थ्यकर्मी खटाएको छ । प्रदेश १ मा ८० हेल्थ डेस्कमा ५९ जना, प्रदेश २ मा ६२ हेल्थडेस्कमा २१ जना, प्रदेश ३ मा उपत्यकाबाहेकका क्षेत्रमा ५० हेल्थ डेस्कमा ५० जना स्वास्थ्यकर्मी परिचालन गरेको छ ।
त्यस्तै, प्रदेश ४ पोखरामा ६३ हेल्थडेस्कमा १५ जना, प्रदेश ५ मा ६७ हेल्थडेस्कमा ४२ जना, प्रदेश ६ मा ७७ हेल्थ डेस्कमा २६ र प्रदेश ७ मा ५९ हेल्थडेस्कमा ५१ जना स्वास्थ्यकर्मी खटाइएको सेनाले जानकारी दिएको छ ।