काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरिए अनुसार तिनै जना संक्रमित सुदूरपश्चिम प्रदेशका रहेका छन् ।
संक्रमित हुनेहरुमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र नेपालमै रहेका कैलालीको ३४ वर्षीय महिला रहेकी छन् ।
योसँगै पहिलो पटक नेपालभित्रै रहेका व्यक्तिमा पनि कोरोना देखिएको छ । यसअघि कोरोना पृष्टि भएका सबै विदेशबाट आएका मात्र थिए ।
अहिले ती संक्रमित तिनै जना सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा उपचार गराइरहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।