जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध

कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्तराज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।

 

यो प्रतिबन्ध विगत १४ दिनभित्र यी मुलुकको भ्रमण गरेका नागरिकका लागि पनि लागू हुनेछ । सिएनएनका अनुसार यात्रा प्रतिबन्धहरु कहिले समाप्त हुन्छ भन्ने बारेमा जापान सरकारले केही बताएको छैन ।

 

कोरोनाभाइरसको महामारी बढ्दै गएपछि गृष्मकालीन ओलम्पिक खेल एक वर्षका लागि स्थगित भएसँगै जापानले यस्तो निर्णय गरेको हो । जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसको महामारीलाई ध्यानमा राखेर नै ओलम्पिक खेल स्थगित गरेको बताइसकेका छन ।

 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार जापानमा हालसम्म २ हजार ९३५ जनामा कोरोना संक्रमण देखिएको छ भने ६९जनाको मृत्यु भएको छ ।

 

जापानमा पनि बुढ्यौली उमेरको जनसंख्या ठूलो रहेको र उनीहरु कोरोना संक्रमणबाट सबैभन्दा बढी खतराको सूचीमा रहेकाले पनि जापानमा विशेष सतर्कता अपनाइएको सरकारको भनाई छ ।

 

युरोप र अमेरिकाको तुलनामा जापानमा संक्रमण दर र मृत्यु दर दुबै निकै न्यून देखिएको छ । दक्षिण कोरियामा भने कोरोनाभाइरसको महामारी रोक्न सरकारले विशेष व्यवस्था गरेको छ र कोरोना परीक्षणलाई व्यापक बनाएको छ ।

लकडाउन राहत : खान पाइएन भन्दै वडामा नाम टिपाउनेको संख्या बढ्दै Read Previous

लकडाउन राहत : खान पाइएन भन्दै वडामा नाम टिपाउनेको संख्या बढ्दै

सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १०% छुट Read Next

सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १०% छुट