लकडाउन राहत : खान पाइएन भन्दै वडामा नाम टिपाउनेको संख्या बढ्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा कार्यालयले मजदूर एवं विपन्न वर्गलाई अत्यावश्यक खाद्यान्न सामग्री वितरण गर्न थालेपछि धेरै मानिसले खान पाइएन भन्दै नाम टिपाउन थालेका छन् ।

 

नयाँबानेश्वर क्षेत्रस्थित वडा नं १० का अध्यक्ष रामकुमार केसी श्रमिक वर्ग ३०० जतिको नाम सङ्कलन होला भन्ने अनुमान गरिएकामा चार गुणा बढीले माग गरेको बताउँछन् । ‘स्नातक, स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीसमेत हामी मागेर खानुपर्ने त होइनौँ, तर अहिले खाद्यान्न छैन भन्दै नाम टिपाएर राहत लिन वडा कार्यालय आउने गरेका छन्, कतिलाई आफ्ना घरबेटीको नामसमेत थाहा नभएको पाइयो,’ उनले भने ।

 

अन्य वडामा बस्नेले समेत राहत लिएर गएको, एकै परिवारका दुई जनाभन्दा बढी पनि राहत लिन आएको पनि पछि पत्ता लगाएको कार्यालयले जनाएको छ । वडामा महानगरपालिकाबाट दुईपटक गरी ८ लाख राहत, स्यानिटाइजर, साबुनपानीलगायतका लागि बजेट आएको थियो ।

 

गौशाला क्षेत्रस्थित वडा नं ९ ले ४५० जना मजदूर वर्गलाई राहत बाँडिसकेको अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले सुनाए । त्यस्तै ५०० लाई शनिबार बाँड्ने वडाको तयारी छ । मारवाडी सेवा समितिले वडाको रोहबरमा १०० मजदूरलाई राहत दिएको छ । लैनचौर क्षेत्रस्थित वडा नं २६ ले राहत वितरणका लाग एक हजार ५२० श्रमिक परिवारको लगत सङ्कलन गरी आजदेखि बाँड्न शुरु गरेको अध्यक्ष ख्यामराज तिवारीले बताए ।

 

राहत वितरण गर्दा कम्तीमा पनि तीन फिटको शारीरिक दूरी कायम गरी एक पटकमा पाँच सात जनालाई मात्र राहत दिने गरिएको छ । सरकारले मजदूर वर्गलाई राहत दिन स्थानीय तहलाई निर्देशन दिएको थियो ।

 

महानगरपालिकाले मजदूरलाई तीन वर्गमा बाँडेर राहत वितरण गर्ने निर्णय गरेको थियो । परिवारमा १ जना हुनेलाई ४ किलो चामल, १ किलो दाल, २ देखि ४ जना हुनेलाई १२ किलो चामल, २ किलो दाल, ५ भन्दा माथि हुनेलाई १६ किलो चामल र २ किलो दाल दिने मापदण्ड बनाएको थियो ।

 

यसैगरी नुन भने परिवार सङ्ख्या जति भए पनि १ किलो दिने महानगरपालिकाको नीति छ । यो नीति ३२ वटै वडामा लागू भएको छ । कुनै संस्थाले राहत दिन चाहेमा स्थानीय तहका वडाको एकद्वार प्रणालीबाट गर्ने निर्णय सरकारले गरेको छ ।

 

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनको ११ औँ दिन आइपुग्दा मजदूर, श्रमिकलगायत दैनिक ज्याला गरी खाने विपन्न वर्गका नागरिक समस्या परेका छन् । पैसा हुनेले किनेर खान पनि सहज रुपमा अत्यावश्यक खाद्यान्न, ग्याँस लगायत सामग्री पाउन नसकिएको गुनासो गरिरहेका छन् ।

डेरावाल सरकारी कर्मचारीले राहत नपाउने Read Previous

डेरावाल सरकारी कर्मचारीले राहत नपाउने

जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध Read Next

जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध