डेरावाल सरकारी कर्मचारीले राहत नपाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ ।

 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न महानगरपालिकाबाट चालिएका कदमहरुबारे आज  जानकारी दिँदै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘डेरामा बस्नेहरुलाई मात्र राहत बाँड्ने भन्ने होइन । काठमाडौँमा घर भएरै पनि खाद्यवस्तु किनेर खान सामथ्र्य नराख्ने घर परिवारलाई समेत राहत बाँड्ने हो ।’

 

सरकारी सेवामा रहेका डेरावालहरुले यस्तो राहत नपाउने प्रमुख शाक्यले स्पष्ट पारे। राहत वितरणलाई अघि बढाउन महानगरपालिकाले जनसङ्ख्याको आकारका आधारमा ८ लाख, ६ लाख र ४ लाख रुपैयाँका दरले वडाहरुलाई सहयोग रकम निकासा गरिसकेको जानकारी पनि उनले दिए । उनले भने, ‘महानगरपालिकाले अहिले टोल टोल र वस्ती वस्तीमा कीट नाशक औषधि छर्कने अभियानलाई अघि बढाइरहेको छ ।’

 

विपद्का बेला सन्त्रासको वातावरण सिर्जना नगरिदिन सञ्चारकर्मीहरुसँग आग्रह गर्दै उनले भने, ‘विदेशबाट फर्केका नागरिकलाई अपराधी सरह नभै सम्मानपूर्वक व्यवहार गरौं । ऊ स्वयं पनि एकान्तवासमा रहनुपर्छ । परिवारका सदस्यसँगै घुलमिल नगरेर बसिदिनुपर्छ । हरेक नागरिकले आफैं सुरक्षित बनेर छिमेकी, समाज, देश र सम्पूर्ण मानव जातिलाई सुरक्षित पार्छु भन्ने भावना राख्नुपर्छ ।’

 

सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिको पहिचान र उसको स्वास्थ्य परीक्षण गर्न सहज होस् भन्ने हेतुले महानगरपालिकाले ‘कोभिड – १९ सर्भिलेन्स सर्भिस’ एप्प सञ्चालनमा ल्याइसकेको छ । यसमा केही व्यक्तिहरुले आफ्ना विवरण भरेर पठाइसकेका छन् ।

 

राहत बाँड्दा दोहोरिन सक्ने र पाउनु पर्ने चाहिँ छुट्न सक्ने संभावनाबारे राखिएको एक जिज्ञासामा उनले भने, ‘हामीले लक्ष्यित वर्गको प्रारम्भिक विवरण तयार पारेका छौं र त्यसकै आधारमा वितरण गर्ने काम भइरहेको छ । कसैले खानै नपाउने स्थिति नआओस् भन्नेमा हामी सचेत छौं ।’ तात्कालिक रुपमा लकडाउन अवधिभरका लागि क्यालोरीको गणना गरी खाद्यवस्तु वितरण गरिएको उनले बताए।

 

उनका अनुसार राहत पाउनु पर्ने व्यक्तिहरुको यकिन विवरण आजै ३२ वटै वडाबाट प्राप्त हुनेछ । कुनै ठाउँ वा वस्तीमा अत्यावश्यकीय वस्तुको अभाव देखिए ढुवानीमा सहजीकरण गरिदिने प्रवन्ध पनि महानगरपालिकाले मिलाएको उनले जानकारी दिए । सर्वसाधारण नागरिकका लागि राहत वा अन्य कुनै विषयमा जानकारी लिन वा सहयोग माग्न महानगरपालिकाले हटलाइन ११८० को व्यवस्था पनि गरेको छ । ।

कोरोना कोषमा नेपाल लाइफको १ करोड सहयोग Read Previous

कोरोना कोषमा नेपाल लाइफको १ करोड सहयोग

लकडाउन राहत : खान पाइएन भन्दै वडामा नाम टिपाउनेको संख्या बढ्दै Read Next

लकडाउन राहत : खान पाइएन भन्दै वडामा नाम टिपाउनेको संख्या बढ्दै