आज माघे संक्रान्ति, परिवर्तन हुँदै मनाउने चलन

काठमाडौं । आज माघे संक्रान्ति । माघे संक्रान्ति हिन्दु धर्मअवलम्बीहरुको महत्वपूर्ण चाड हो । माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आजको दिनलाई थारुहरुले नयाँ वर्षको रुपमा माउने गर्छन् ।

 

ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे १ गते संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भन्ने गरिएको हो ।

 

यो दिन देखि सूर्य दक्षिण गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

 

पुरातात्विक भनाई अनुसार माघे संक्रान्तिलाई ‘यो वर्ष जाडोबाट बाचियो’ भनेर खुसियालीका रुपमा पनि मनाइने गरिन्छ ।

 

माघे संक्रान्ति पर्वमा हिन्दु धर्मवलम्बीहरुको घरमा विभिन्न परिकार पाक्ने गर्छ । यस दिन विशेष गरी चाकु, तिलको लड्डु, घिउ, तरुल खाने गरिन्छ । साथै आजको दिन आफ्नो घरमा पाकेका परिकारहरु बाडेर खाने चलन रहिआएको छ । मानिसहरु आफ्नो घरमा पाकेका परिकार छरछिमेकमा बाडेर खाने गर्छन् जसले एक आपसमा भएको आत्मिएतालाई बढाउने गर्छ ।

 

आज विवाह गरेर टाढा पुगेका चेलीहरुलाई बोलाएर मिठो परिकार बनाएर खान दिने चलन पनि रहिआएको छ ।

 

यस दिन विशेष गरी देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्ने गर्छ ।

 

आजको दिन घिउ, चाकु र तिलको लड्डु तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढ्छ । जसले चिसोसँग लड्ने क्षमता प्रदान गर्छ । यस्तै मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास पनि राखिन्छ ।

 

कुन जातजातीले कसरी मनाउ छन् माघे संक्रान्ति

 

एकै समय पर्ने यस चाडलाई विभिन्न ठाउँमा बसोबास गरेका बाहुन, छेत्री, राई, मगर, लिम्बु, नेवार, गुरुङ लगायतका सबै जातजातीका मानिसहरुले माघे संक्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

 

थारु समुदायले यस पर्वलाई माघी भनेर मनाउँछन् । यस दिनलाई उनीहरु नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।

 

मगर समुदायले यस पर्वलाई धुमधामका साथ मनाउने गर्छन् । उनी यस पर्वलाई माघ्यारसेर्ल्हेस पनि भन्छन् ।

 

किराँत तथा जनजाती समूदायमा विशेष गरी सेलरोटी पकाउने गर्छन् । उनीहरु सेल, तरुल, चाकु, तिलको लड्डु, मासको बारा बनाएर खाने गर्छन् । दशैँमा भेट हुन नसकेको चेली तथा विवाह गरेर पराई घर गएकी चेलीहरुलाई पनि बोलाएर यसलिन विशेष यी परिकारहरु बनाएर खान्दिने र सँगै दिएर पठाउँने चलन छ ।

 

नेवार समुदायहरु यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भन्दछन । यस दिन उनीहरू चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने काम गर्दछन् ।

 

यसरी परिवर्तन हुँदै माघे संक्रान्ति मनाउने तरिका

 

विगतका समयमा माघे संक्रान्तिका दिन विवहा गरेर गएका छोरि चेलीलाई घर बोलाउने गरिन्थ्यो । घर बोलाएर उनीहरुलाई मिठो परिकार बनाएर खान दिइन्छ ।

 

यसदिन सेल, तरुल, तिलको लड्डु, चाकु, खिचडी, घिउ लगायतका सामग्रीहरु उनीहरुलाई घर फर्किदा दिएर पठाउने पनि चलन रहिआएको छ ।

 

तर, पछिल्लो केही समय यो चलन घट्दै गएको छ । यसमा केही परिवर्तन आएको छ । विशेष गरी उपत्यकामा माघे संक्रान्ति मनाउने चलन अली भिन्न भएको छ ।

 

उपत्यकामा आ–आफ्ना समूहका मानिसहरु संघ, संस्थासँग संलग्न भएर भृकुटीमण्डप, टुडिखेल लगायतका खुल्ला ठाउँमा सबै भेलाभई एकै प्रकारका कपडा लगाई खाने, पिउने, नाच्दै रमाईलो गर्न थालेका छन् ।

 

यसरी विस्तारै नेपाली चाडपर्व मनाउने तरिकामा फरक पन आउन थालेको हो ।

सुन्दर यातायातले इलेक्ट्रीक बस किन्न बैंकहरुबाट ऋण नै पाएन Read Previous

सुन्दर यातायातले इलेक्ट्रीक बस किन्न बैंकहरुबाट ऋण नै पाएन

‘व्याजदर र बालुवाटार तिर आँखा डुलाउनै पर्दैन, ‘आरटीजीएस’ लागू गर्नुस सेयर बजार आफैं बढ्छ’ Read Next

‘व्याजदर र बालुवाटार तिर आँखा डुलाउनै पर्दैन, ‘आरटीजीएस’ लागू गर्नुस सेयर बजार आफैं बढ्छ’