काठमाडौं । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
बिहीबार जिल्ला अदालत कास्कीको न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासलेले लामिछानेलाई थप ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
रविलाई हिरासतमा राख्न म्याद थपिएको यो सातौंपटक हो । कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलोपटक ५ दिन थुनामा राख्न अनुमति दिइएको थियो ।
त्यसपछि फेरि ७ दिनको म्याद थपिएको थियो । तेस्रोपटक कात्तिक २० गते थप १० दिनका लागि म्याद थपिएको थियो भने चौथोपटक कात्तिक २५ गते १५ दिनका लागि म्याद थपिएको थियो । त्यस्तै, मंसिर ९ गते पाँचौं पटक १५ दिन र मंसिर २३ गते छैटौं पटक ५ दिनका लागि म्याद थपिएको थियो ।
लामिछाने माथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।