काठमाडौं । लेबनानको हिजबुल्लाह समूहले इजरायलमा रकेट आक्रमण गरेको छ । गत महिना बेरुतमा एक वरिष्ठ कमाण्डरको हत्याको बदला लिन हिजबुल्लाहले आइतबार इजरायलविरुद्ध सयौं रकेट र ड्रोन आक्रमण गरेको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हिजबुल्लाहले इसराइलका ११ सैन्य इलाकामा प्रहार गरेको बताएको छ । उसले पहिलो चरणको बदला सफलतापूर्वक सकिएको बताएको छ ।
यता इजरायलले भने हिजबुल्लाहलेभन्दा अघि नै लेबनानमा हमला गरेको दाबी गरेको छ । करिब १०० लडाकू विमानले लेबनानमा रहेका ४० विभिन्न रकेट प्रहार गर्ने स्थलमा आफूले हमला गरेको बताएको छ।
गाजामा प्यालेस्टिनी समूह हमासविरुद्ध युद्ध गरिरहेको इजरायलको लेबनानको हिजबुल्लाह बीच पनि शत्रुतापूर्ण सम्बन्ध छ । दुई समूहबीच तिक्तता चुलिएपछि आइतबार भएको सबैभन्दा ठूलो गोलीबारी हो ।
गत महिना इजरायलको कब्जामा रहेको गोलान हाइट्समा क्षेप्यास्त्र आक्रमणमा १२ जना युवाको ज्यान गएपछि इजरायली सेनाले बेरुतमा शुक्रको हत्या गरेको थियो । त्यसपछि दुई पक्षबीचको तनाव बढ्ने अपेक्षा बढेको थियो।
यसैबीच, इजरायले हिजबुल्लाहसँगको आजको भिडन्तका कारण ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको छ । तेलअबिबस्थित विमानस्थल केही समयका लागि बन्द भए पनि फेरि सञ्चालनमा आएको छ। संयुक्त राज्य अमेरिकाले इजरेललाई आफ्नो समर्थन रहने दोहोर्याएको छ।