काठमाडौँ । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
ओली प्रधानमन्त्री बनेको यो चौथोपटक हो । उनी यसअघि २०७२ असोज २४ गते पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०७४ को प्रतिनिधिसभाको चुनावपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । त्यस्तै, २०७८ साल वैशाख ३० गते राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
शुक्रबार प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै ओली आज नयाँ सरकारको प्रधानमन्त्री बनेका हुन् । उनलाई संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेससहित दलहरूको समर्थन छ ।
राष्ट्रपतिले रामचन्द्र पौडेलले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे गर्ने गराउने भएको छ । शपथका लागि विशिष्ट व्यक्तिहरूलाई बिहान १० बजेखि १०ः४५ भित्र आइपुगिसक्न राष्ट्रपति कार्यालयले निम्ता गरेकाे छ ।