जेठ २८ यता बाढीपहिरोबाट १०१ जनाको मृत्यु

काठमाडौं । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म १०१ जनाले ज्यान गुमाएका छन् ।

गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी १०१ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘जेठ २८ गते बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु, १०८ जना घाइते र छ जना बेपत्ता भएका छन् ।’

यसैगरी बाढीपहिरो तथा विपद्का कारण काठमाडौँमा एक जना, कोशी प्रदेशमा १९, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा छ, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा ७ जनागरी जम्मा १०१ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु भएकाहरुमध्ये बाढीबाट २७, पहिरामा परी ५० र चट्याङ्बाट २३ जनाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए । अविरल वर्षाकै कारण हालम्म १०८ जना घाइते भएका तथा छ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामा कोशी प्रदेशमा दुईजना, बागमती प्रदेशमा दुईजना, गण्डकीमा एकजना तथा सुदूरपश्चिम प्रदेशमा एकजनागरी छ जना रहेका छन् ।

बाढीपहिरो तथा विपद्का कारण काठमाडौँ तीन, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना तथा सुदूरपश्चिम प्रदेशमा ११ जनागरी जम्मा १०८ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढीपहिरोबाट अहिलेसम्म रु ४१ लाख २० हजार बराबरको क्षति भएको तथा उद्धारका लागि ५०१ जना प्रहरी परिचालन भएका प्रवक्ता कार्कीले जानकारी दिए ।

यसैगरी देशव्यापी रूपमा तीनवटै सुरक्षा निकायबीचको समन्वय र सहकार्यसहित प्रभावित क्षेत्रमा परिचालित भई खोज तथा उद्धार कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

क्षेत्रीय विद्युत् व्यापारमा ढोका खुलेको छ : प्रधानमन्त्री Read Previous

क्षेत्रीय विद्युत् व्यापारमा ढोका खुलेको छ : प्रधानमन्त्री

एमाले विरुद्ध प्रचण्ड आक्रमक, संविधान संशोधनमा खेलाँची नगर्न चेतावनी (पूर्णपाठ) Read Next

एमाले विरुद्ध प्रचण्ड आक्रमक, संविधान संशोधनमा खेलाँची नगर्न चेतावनी (पूर्णपाठ)