काठमाडौं । बाढी पहिरोका कारण देशका २७ वटा मुख्य सडकहरू पूर्णरुपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार (आइतबार बिहान ११ बजे)सम्म सिद्धार्थ राजमार्ग, कालिगण्डकी करिडोर, कणार्ली राजमार्ग, कान्तिलोकपथसहित २७ मुख्य सडक अवरुद्ध भएका हुन् ।
प्रहरीका अनुसार पहिरोका कारण कान्तिलोकपथ, दक्षिणकाली कोशी राजमार्ग, भोटेखोला कोशी राजमार्ग, स्याफ्रुवेँशी थाम्बुचेत सडक खण्ड , प्युठानको स्याउली वगदुम्वा र भालुवाङ दाङ प्युठान सडक अवरुद्ध भएका छन् ।
त्यसैगरी, कर्णाली राजमार्ग,पहिरोकै कारण साँफे मार्तडी सडक, जय पृथ्वी सडक खण्ड, बझाङखोड्पे तैतडी सडक, भीमदत्त राजमार्ग, गुल्मीको रिडी वाग्लुङ,कालीगण्डकी कोरिडोर, मदन भण्डारी राजमार्ग, रिडी बाग्लुङ, गोरुसिङ्गे सन्धीखर्क सडक, पाल्पा अर्घाखाँची सडक, शहीद राजमार्ग र घोराही तुलसीपुर सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बाढीका कारण मनाङमा चामे बेँशीशहर खण्ड, बेनी दरवाङ सडक, बेनी–जोमसोम, स्याङ्जामा सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् ।
पहिरोका कारण नवलपरासीमा कालीगण्डकी कोरिडोर, वाग्लुङमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध हुन पुगेका छन् । केही ठाउनमा सडक खुलाउन पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।