काठमाडौं । मुख्य सचिव डा. बैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत, काठमाडौंमा १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव अर्याल स्वतः निलम्बनमा परेका छन् । बहालवाला मुख्यसचिव माथि भ्रष्टाचार मुद्दा दायर भएको नेपालको निजामति इतिहासमा यो पहिलो घटना हो ।
यस्तै, अख्तियारले मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्परसाद पाण्डे, आन्तरिक राजस्व विभाग लाजिम्पाटमा कार्यरत उपसचिव गणेश विक्रम शाही, अधिकृत रविन्द्रप्रसाद पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई प्रतिवादी बनाएको छ ।
यसैगरी, सुरक्षण मुद्रण केन्द्र काठमाडौंका तत्कालीन लेखा अधिकृत विष्णुप्रसाद गौतम, तत्कालीन शाखा अधिकृत हरिबल्लभ घिमिरे, मुद्रण केन्द्रका खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल प्रालि ललितपुरका निर्देशक केशव शर्मा र प्रिन्ट सेल प्रालि कम्पनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरू विरुद्ध कुल ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो माग दाबी गरेको छ ।
सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक राजस्व विभागका लागि ४३ करोड ३२ लाख थान अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो । उक्त ठेक्का बिना प्रतिस्पर्धा लागतभन्दा निकै महँगोमा प्रिन्टसेललाई दिइएको थियो ।
सोबेला मुख्यसचिव अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव थिए भने सेन्टरको कार्यकारी निर्देशक विकल पौडेल थिए । उनीहरू दुवै जनाको निर्णयमा स्टिकर छपाईको ठेक्का लगाइएको थियो ।
त्यस्तै, अर्यालले सचिव हुँदा मन्त्रालयको योजना छनौटका आधारभूत प्रक्रिया नै पूरा नगरी सुरक्षण मुद्रण केन्द्रका नाममा ठूलो रकम विनियोजन गरेका थिए ।
मुख्यसचिव अर्याल टेरामक्स प्रकरणमा पनि मुछिएका छन् । सो प्रकरण बारे अनुसन्धान सकी अख्तियारले मुद्दा दायर गर्ने तयारी गरिरहेको छ ।