खराब ब्याटिङले विश्वकपमा नेपाल जितविहीन, बंगलादेशसँग २१ रनले पराजित

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसीसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल जितविहीन रहँदै बाहिरिएको छ ।

सोमबार बिहान वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा खेलेको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुँदै जितविहीन रूपमा विश्वकप यात्रा टुंगाएको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको नेपाल १९.२ ओभरमा अलआउट हुँदै ८५ रनमै सीमित भयो ।

नेपालका लागि कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन र दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । आसिफ शेखले १७ रन बनाए भने अन्य ब्याट्म्यानहरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बंगलादेशका तान्जिम हसनले ४, मुश्ताफिजुर रहमानले ३, सकिब अल हसनले २ र तस्किन अहमदले १ विकेट लिए ।

पहिला ब्याटिङ गरेको बङ्गलादेशका लागि सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै रिशाद हसन  र महमुदूल्लाह रियादले समान १३/१३ रन जोडे ।

बङ्गलादेशलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान २/२ विकेट लिए ।

नेपालले समूह चरणका चार मध्ये तीन खेल हारेको छ भने एक खेल वर्षका कारण रद्द भएको थियो । नेपाललाई नेदरल्याण्डले ६ विकेट र दक्षिण अफ्रिकाले १ रनले हराएका थिए । वर्षाका कारण खेल हुन नसकेपछि श्रीलंकासँग भने अंक बाँडेको थियो ।

२० वर्ष पुराना सवारीको दर्ता खारेज गर्दा जरिवानामा ८०% छुट Read Previous

२० वर्ष पुराना सवारीको दर्ता खारेज गर्दा जरिवानामा ८०% छुट

काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द, किन भयो एकाएक हाहाकार ? Read Next

काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द, किन भयो एकाएक हाहाकार ?