विश्वकप खेल्न गएको नेपालले कम्तीमा ३ करोड पाउने, विजेताले कति ?

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी २० विश्वकप क्रिकेट खेल्न पुगेको नेपालले कम्तीमा झण्डै ३ करोड रुपैयाँ पाउने पक्का भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले विश्वकपको पुरस्कार राशी घोषणा गरेको छ । आइसीसीका अनुसार विश्वकपमा सहभागी हरेक राष्ट्रले कम्तीमा २ लाख २५ हजार अमेरिकी डलर (करिब २ करोड ९७ लाख रुपैयाँ) पाउने छन् ।

यस अनुसार नेपालले प्रतियोगिताका कुनै खेल नजिते पनि कम्तीमा २ लाख २५ हजार डलर पाउने छन् । त्यस्तै, लिग चरणका खेलमा हरेक खेलको जितमा थप ३१ हजार १५४ डलर (४१ लाख १५ हजार रुपैयाँ) पाउने छन् ।

समूह ‘डी’ मा रहेको नेपालले लिगचरणमा ४ वटा खेल खेल्नेछ । नेपालको समूहमा टेष्ट राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश छन् भने एसोसिएटस् मुलुक नेदरल्याण्ड रहेका छन् ।

यदि नेपालले लिग चरणको एउटा खेल जितेमा कुल ३ करोड ३८ लाख रुपैयाँ, दुई खेल जितेमा २ करोड ७९ लाख रुपैयाँ, तीन खेल जितेमा ४ करोड २० लाख र सबै खेल जितेमा ४ करोड ६१ लाख रुपैयाँ पुरस्कार पाउने छ । यद्यपि, नेपालका प्रतिस्पर्धी सबै बलिया रहेका छन् ।

कसले कति पाउँछन् ?

जारी विश्वकपमा २० टोली बीच प्रतिस्पर्धा हुनेछ । आइसीसीका अनुसार विजेताले कम्तीमा २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार (३२ करोड ५६ लाख रुपैयाँ) जित्ने भएको छ ।

फाइनलमा पराजित हुने (उपविजेता) टोलीले १२ लाख ८० हजार डलर (१६ करोड ९० लाख रुपैयाँ) जित्नेछ । सेमिफाइनलमा हार्ने दुई टोलीले ७ लाख ७८ हजार डलर ( १० करोड २७ लाख रुपैयाँ) प्राप्त गर्नेछन् ।

त्यसैगरी, सुपर–८ मा पुग्ने टोलीले ३ लाख ८२ हजार डलर (५ करोड ४ लाख रुपैयाँ) प्राप्त गर्नेछन् भने वरियात क्रममा नवौं, दशौं, एघारौं र बाह्रौं स्थानमा रहनेले प्रत्येक टोलीले २ लाख ४७ हजार पाउने छन् ।

त्यस्तै, १३औंदेखि २०औं स्थानमा रहने सहभागी हरेक टोलीले २ लाख २५ हजार डलर (२ करोड ९७ लाख रुपैयाँ) पाउने छन् । सहभागी टिमले लिग चरणका हरेक खेल जित्दा अतिरिक्त ३१ हजार १५४ डलर पाउने छन् ।

प्रतियोगिताको कुल पुरस्कार राशी ११.२५ मिलियन डलर (१ अर्ब ४८ करोड रुपैयाँ) रहेको छ ।

२८ दिनसम्म चल्ने विश्वकपमा ५५ खेल खेलाइने छ । समूह चरणमा ४० खेल हुनेछन् । सुपर ८–देखि फाइनलसम्म १६ खेल हुनेछन् । हरेक समूहमा शीर्ष दुई टिम सुपर-८ मा पुग्नेछन् । सुपर-८ बाट चार टोली सेमिफाइनल पुग्नेछन्।

काठमाडौंमा आइसल्याण्डको अवैतनिक महावाणिज्य दूतावास स्थापना Read Previous

काठमाडौंमा आइसल्याण्डको अवैतनिक महावाणिज्य दूतावास स्थापना

देशभरका स्थानीय निकायलाई टी-२० विश्वकप लाइभ गर्न सरकारको निर्देशन Read Next

देशभरका स्थानीय निकायलाई टी-२० विश्वकप लाइभ गर्न सरकारको निर्देशन