दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ लगायत उपस्थित थिए ।

कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी मङ्गलबार यहाँ आएका थिए । कतारका अमिरले सोही दिन साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका थिए । भेटवार्तापछि राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही दिन साँझ राजकीय भोजको आयोजना गरेका थिए ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो । उक्त वार्ताका क्रममा दुईदेशबीच आपसी सहकार्यसम्बन्धी विभिन्न विषयमा समझदारी भएको छ ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा सन् २०११ अगष्टमा राजदूतावास स्थापना गरेको थियो ।

नेपाल र कतार बीच विभिन्न ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी Read Previous

नेपाल र कतार बीच विभिन्न ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी

अमेरिकी संसदबाट टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित Read Next

अमेरिकी संसदबाट टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित