काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हिनामिना प्रकरणमा उद्याेगी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीको बयान लिन निर्देशन दिएका छन् ।
गृहमन्त्री लामिछानेले उक्त प्रकरणमा चौधरीको बयान लिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई निर्देशन दिएका हुन् ।
आइतबार बिहान गृह मन्त्रालयमा बसेको गृहमन्त्री, गृह सचिव एकनारायण अर्याल, प्रहरी महाजिरीक्षक वसन्त कुँवर, सीआइबी प्रमुख श्यामलाल ज्ञवालीसहित बैठकमा उनले चौधरीलाई अनुसन्धानको दायारामा ल्याउन निर्देशन दिएका हुन् ।
गृहमन्त्रीको निर्देशनपछि सीआइबीले चौधरीको बयान लिने तयारी गरेको छ । चौधरी नेपालका एक मात्र डलर अर्बपति समेत हुन् ।
यही प्रकरणमा सीआइबीले यसअघि माघ १८ गते उनका भाइ अरुण चौधरीसहित ३ जनालाई पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतको आदेशपछि उनीरू एकसातापछि रिहा भएका थिए ।
चौधरी परिवारले सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरी व्यक्तिको नाममा ल्याएको सीआइबीको ठहर छ । सो जग्गामा चौधरीले अहिले चाँदबाग स्कुल संचालन गर्दै आएका छन् । गृहमन्त्रीले उक्त जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया आजै थाल्न समेत निर्देशन दिएका छन् ।
यस्तै, बैठकमा गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन् ।