काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्णता पाएको छ । आइतबार जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट दुई जना मन्त्रीले शपथ लिएसँगै २२ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
जसपाको तर्फबाट उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र नवलकिशोर साह वन तथा वातावरणमन्त्री बनेका हुन् ।
सरकारमा नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी र जनता समाजवादी गरी ५ दलको सहभागिता छ । जसमा नेकपा एमालेका तर्फबाट ८ जना, माओवादीबाट प्रधानमन्त्रीसहित ६ जना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ४ जना, एकीकृत समाजवादी र जसपाबाट समान २/२ जना मन्त्री रहेका छन् ।
माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।
सरकारमा नेकपा एमालेको नेतृत्व गर्ने रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
त्यस्तै, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन् ।
त्यसैगरी, रास्वपाबाट पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । त्यस्तै, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
त्यस्तै, समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा समान्य प्रशासन र धनबहादुर बुढा सहरी विकासमन्त्री बनेका छन् ।
